ट्रम्प र जेलेन्स्कीबीचको भेटवार्तापछि जी–७ नेताहरूमा उत्साह

|

​​​​​टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–७ शिखर बैठकका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै रूसले युक्रेनसँग शान्ति सम्झौता गर्नुपर्ने बताएका छन् ।

ट्रम्पको भनाईसँगै शान्ति सम्झौता हुनसक्ने भन्दै जापानी प्रधानमन्त्री सानाए ताकाइचीसहित जी–७ नेताहरूले उत्साहित भएको बताएका छन् ।

रुस युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसक्दा पनि शान्ति सम्झौताको प्रयासले सार्थकता पाउन सकेको छैन । गत वर्ष ओभल अफिसमा भएको भेटमा जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएको थियो ।

जेलेन्स्की र युरोपेली देशहरु फ्रान्सको एभियान–ले–बेन्समा आयोजित जी–७ शिखर सम्मेलनमा युद्ध अन्त्यका लागि ट्रम्पलाई प्रभावित पार्ने उद्देश्यसहित उपस्थित थिए ।

रूसको भित्री भू–भागसम्म युक्रेनले गरेको ड्रोन आक्रमणका कारण युद्धको मैदानमा युक्रेनको स्थिति सुधारिएको उनीहरूको बुझाइ थियो ।

इरानसँगको युद्ध अन्त्य गर्ने एउटा प्रारम्भिक सम्झौतापछि जी–७ शिखर सम्मेलनमा पुगेका ट्रम्पले युक्रेन द्वन्द्व अन्त्य गर्न आफूले सक्दो प्रयास गर्ने बताए ।

यद्यपि, मस्कोमाथि दबाब बढाउनका लागि चालिने कुनै पनि ठोस कदमहरूको विवरण भने उनले दिएनन् ।

‘रूसले सम्झौता गर्नुपर्छ,’ ट्रम्पले पत्रकारहरूसँग भने । उनले युद्धको मैदानमा दुवै तर्फका धेरै युवाहरू मारिइरहेको बताउँदै भने, ‘मैले जे गर्न सक्छु, त्यो गर्नेछु ।’

जर्मन चान्सलर फ्रेडरिक मर्जले रूसले युद्ध अन्त्य गर्नुपर्छ भन्ने ट्रम्पको अभिव्यक्ति खुसीको कुरा भएको बताए ।

ट्रम्पसँगको सामूहिक भेटवार्तापछि जेलेन्स्कीले रोयटर्ससँग रूसले यो युद्ध जितिरहेको छैन भन्ने कुरामा जी–७ का नेताहरू सहमत भएको बताए ।

मस्कोलाई वार्ताको टेबलमा ल्याउनका लागि रूसको तेल निर्यात, बैंकिङ क्षेत्र र सैन्य उत्पादनलाई लक्षित गर्दै थप प्रतिबन्धहरू लगाउने विषयमा पनि उनीहरूबीच छलफल भएको उनले जानकारी दिए ।

युक्रेनी सार्वजनिक प्रसारक सुस्पिलनेले पछि जेलेन्स्कीको एउटा भिडियो क्लिप देखाएको थियो । जसमा उनले मंगलबार ट्रम्पसँग फेरि भेट्ने आशा व्यक्त गरेका थिए ।

जेलेन्स्कीले सोमबार आफूले जी–७ शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने प्रस्ताव गरेको बताएका थिए । तर क्रेमलिनका एक सहयोगीले ट्रम्प र पुटिनबीच भएको फोनवार्तामा यसबारे कुनै कुरा नउठेको बताए ।

दुई युरोपेली कूटनीतिज्ञका अनुसार बैठकका क्रममा जेलेन्स्कीले किभको पेचेस्र्क लाभ्रा गुम्बामा रूसले गरेको आक्रमणपछिको भिडियो तथा तस्बिरहरू ट्रम्पलाई देखाएका थिए ।

एक युरोपेली कूटनीतिज्ञले ट्रम्पले सो आक्रमणप्रति असन्तुष्टि व्यक्त गरेको बताए भने अर्का कूटनीतिज्ञले ती तस्बिरहरू देखाउनु जेलेन्स्कीको मनोवैज्ञानिक रूपमा एउटा राम्रो कदम भएको टिप्पणी गरे ।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरान युद्ध अन्त्य गर्ने अन्तरिम सम्झौतापछि बजार शान्त भएकाले वासिङ्टन अब रूसी तेलमाथिको छुट अवधि समाप्त गर्ने स्थितिमा रहेको बताए पनि बृहत्तर दण्डनात्मक उपायहरूको प्रश्नमा भने उनी मौन रहे ।

युरोपेली नेताहरू ट्रम्पलाई यो कुरामा विश्वस्त पार्न चाहन्थे कि सम्भावित सम्झौताका सर्तहरूका बारेमा यसअघिका अमेरिकी दृष्टिकोणहरू मस्कोको पक्षमा बढी अनुकूल थिए ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयनले एक्समा पोस्ट गर्दै लेखेकी छिन्, ‘युक्रेनको पक्षमा लहर बदलिरहेको छ । रूसको थकान स्पष्ट रूपमा देखिँदैछ । यो हाम्रो सहयोगलाई दोब्बर बनाउने समय हो ।’

एक फ्रान्सेली कूटनीतिज्ञका अनुसार जी–७ नेताहरूले किभलाई थप हवाई रक्षा क्षमता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । रूसको बढ्दो नागरिक आक्रमणको सामना गरिरहेका जेलेन्स्कीका लागि यो एक प्रमुख प्राथमिकता हो ।

युरोपेली नेताहरूले ट्रम्पलाई इरानसँगको अन्तरिम सम्झौताले तेहरानको आणविक र ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई थप प्रश्रय दिने जोखिम रहेको भन्दै सचेत गराउने तयारी पनि गरेका थिए ।

राष्ट्रपति एमानुएल म्याक्रोँले यसको उद्देश्य एक ‘ठोस र गम्भीर सम्झौता सुनिश्चित गरी त्यसलाई अन्तिम रूप दिनु’ रहेको बताए ।

मंगलबार हर्मुज स्ट्रेटलाई सुरक्षित रूपमा पुनः खोल्ने विषयमा छलफल भएको थियो । जसलाई इरानले फेब्रुअरीको अन्त्यमा बन्द गरेको थियो ।

नेताहरूले सो जलमार्गलाई छल्ने वैकल्पिक मार्गहरूबारे समेत छलफल गरे । ट्रम्पले आगामी शुक्रबारदेखि यो मार्ग पूर्ण रूपमा खुला हुने बताएका थिए ।

यो अन्तरिम सम्झौताले जटिल प्राविधिक वार्ताका लागि ६० दिनको समय उपलब्ध गराउनेछ । जसमा इरानको अत्यधिक सम्वद्र्धित युरेनियमको भण्डारणको भविष्य र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाउने विषयहरू समावेश हुनेछन् ।

यद्यपि, युरोपेली सहयोगीहरूलाई के डर छ भने अनुभवहीन अमेरिकी वार्ता टोली अर्को चरणमा सुदृढ आणविक सम्झौता सुरक्षित गर्न वा इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई सम्बोधन गर्न असफल हुन सक्छ, जसले सम्भावित रूपमा दीर्घकालीन गतिरोध सिर्जना गर्न सक्छ ।

ट्रम्पले भने यस सम्झौतामा इरानले आणविक हतियार विकास गर्ने छैन भन्ने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको दाबी गरे । इरानले भने आफूले कहिल्यै आणविक हतियार बनाउन नचाहेको लामो समयदेखि बताउँदै आएको छ ।