अमेरिका–इरान होर्मुज खोल्न तयार, ६० दिन युद्धविराम लम्बिनसक्ने

|

एजेन्सी।अमेरिका र इरान होर्मुज स्ट्रेट खुला गर्न तयार भएको रिपोर्ट बाहिर आएको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार दुवै देश पहिले युद्धविरामलाई ६० दिनका लागि बढाउन तयार भएका हुन् ।

रिपोर्टमा मध्यस्थकर्ता र वार्तामा जोडिएका व्यक्तिको हवाला दिँदै यस क्रममा होर्मुज विस्तारै खोल्दै जाने सहमति भएको उल्लेख गरिएको छ ।

रिपोर्टअनुसार दुई देशबीच सम्वद्र्धित युरेनियम भण्डारबारे समेत वार्ता हुने सम्भावना छ । योसँगै इरानको परमाणु कार्यक्रमबारे पनि अर्को चरणको वार्ताका लागि आधार तयार गरिनेछ ।

होर्मुज स्ट्रेट संसारको सबैभन्दा महत्वपूर्ण तेल व्यापार मार्गमध्ये एक मानिन्छ । यहाँको तनावले वैश्विक तेल बजार, शिपिङ र आपूर्ति शृङ्खलामा असर परेको छ भने महंगी उच्च बनेको छ ।

यस्तो अवस्थामा होर्मुज स्ट्रेट फेरि सामान्य भएमा अन्तर्राष्ट्रिय बजारमा राहत उत्पन्न हुनसक्छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता या फेरि युद्ध सुरु हुने सम्भावना ५०–५० प्रतिशत रहेको बताएका छन् ।

एक्सियोसलाई दिएको अन्तर्वार्तामा उनले फेरि सैन्य कारबाही गर्ने वा नगर्ने भन्ने निर्णय केही दिनमै हुने बताएका छन् ।

ट्रम्पले आफ्ना वार्ताकारसँग इरानको नयाँ प्रस्तावको समीक्षापछि अन्तिम निर्णय लिने बताएका छन् ।