
टोकियो । उत्तर कोरियाले आइतबार बिहानै आफ्नो पूर्वी तटको समुद्रतर्फ धेरै ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको दक्षिण कोरिया र जापानले बताएका छन् ।
यो प्योङयाङले आफ्नो सैन्य क्षमता अभिवृद्धि गर्ने प्रयासलाई तीव्र पार्न गरेका प्रक्षेपणहरूको पछिल्लो श्रृंखला हो ।
योसँगै उत्तर कोरियाले यस वर्षको सातौँ र अप्रिल महिनाको चौथो ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको हो ।
‘अमेरिका इरानमा केन्द्रित भइरहेका बेला, उत्तर कोरियाले यसलाई आफ्नो आणविक शक्ति र मिसाइल क्षमता सुधार गर्ने सुनौलो समयको रूपमा हेरेको छ,’ क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले भने ।
यो घटनासँगै दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले आकस्मिक सुरक्षा बैठक बोलाएको मिडिया रिपोर्टहरूले जनाएका छन् ।
यस्ता परीक्षणहरूले उत्तर कोरियाको मिसाइल कार्यक्रमविरुद्धको संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गर्ने दाबी दक्षिण कोरियाको छ । प्योङयाङले राष्ट्र संघको प्रतिबन्धलाई अस्वीकार गर्दै यसले आफ्नो आत्मरक्षाको सार्वभौम अधिकारको हनन् गर्ने बताएको छ ।
दक्षिण कोरियाको सेनाले एक विज्ञप्ति जारी गर्दै मिसाइलहरू उत्तर कोरियाको पूर्वी तटमा रहेको सिन्पो सहर नजिकैबाट बिहान करिब ६ः१० बजे प्रहार गरिएको जनाएको छ ।
जापान सरकारले सामाजिक सञ्जालमा पोष्ट गर्दै ती ब्यालिस्टिक मिसाइलहरू कोरियाली प्रायद्वीपको पूर्वी तट नजिकै खसेको विश्वास गरिएको र जापानको विशेष आर्थिक क्षेत्रभित्र कुनै अतिक्रमण पुष्टि नभएको बताएको छ ।
चीन र अमेरिकाबीच मे महिनाको मध्यमा हुने शिखर सम्मेलनको तयारी भइरहँदा यो प्रक्षेपण गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच ट्रम्पको बेइजिङ भ्रमणका समयमा उत्तर कोरियाबारे समेत छलफल हुने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफेल ग्रोसीले बुधबार उत्तर कोरियाले सम्भवतः नयाँ युरेनियम संवद्र्धन केन्द्र थपेर आणविक हतियार उत्पादन गर्ने आफ्नो क्षमतामा धेरै गम्भीर प्रगति गरेको बताएका थिए ।
मार्चको अन्त्यमा उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक सम्पन्न राष्ट्रको हैसियत अपरिवर्तनीय रहेको र राष्ट्रिय सुरक्षाका लागि आत्मरक्षात्मक आणविक अवरोध विस्तार गर्नु आवश्यक रहेको बताएका थिए ।

