मोरोक्कोमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २९६ जनाको मृत्यु

मोरोक्कोमा ६.८ म्याग्निट्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २९६ जनाको मृत्यु भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन रहेको बताइएको छ । जुन माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ । यूएस जिओलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु १८.५ किलोमिटर गहिराईमा रहेको छ ।

स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको थियो । त्यसको १९ मिनेटपछि ४.९ म्याग्निट्यूडको परकम्प मापन गरिएको छ ।

भूकम्पका कारण २९६ जनाको मृत्यु भएको र १५३ जना घाइते भएको जनाइएको छ ।

सामाजिक सञ्जाल एक्समा राखिएका भिडिओमा भत्किएका भवनहरू, हल्लिरहेका घरहरू र भग्नावशेषहरू देख्न सकिन्छ । धुलोको मुस्लो हुँदै मानिसहरू हिँडिरहेको र केही मानिसहरू भागिरहेको पनि देख्न सकिन्छ ।

माराकेसको पुरानो सहरका कतिपय भवनहरू ध्वस्त भएको एक जना स्थानीय बासिन्दाले बताएका छन् । शक्तिशाली परकम्प आउनसक्ने डरले मानिसहरू आफ्ना घर बाहिर नै बसिरहेका छन् ।

भूकम्पपछि बिजुली र फोन लाइन १० मिनेटसम्म कटेको थियो । समाचार संस्था एएफपीले एउटा परिवार भग्नावशेषमुनि पुरिएको र कैयौं मानिसहरूलाई अस्पताल लगिएको जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्सको दुर्गम क्षेत्रमा भए पनि कम्पनहरू राजधानी रबात, कासाब्लाङ्का र सुइरासम्म महसुस गरिएको थियो ।

भूकम्पको केन्द्रबिन्दु नजिकैका स्थानमा भवनहरू सग्लो नरहेको हुनसक्ने र दुर्गम ठाउँमा भएकाले त्यहाँ भएका क्षतिका विवरणहरू आउन समय लाग्नसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?