पुटिनविरुद्ध विद्रोह गर्ने वाग्नर प्रमुख प्रिगोजिन मारिए

गत जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेका भाडाको लडाकु समूह वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको एक विमान दुर्घटनामा मृत्यु भएको छ ।

रुसी समाचार एजेन्सी तासले प्रिगोजिनको दुर्घटनामा मृत्यु भएको पुष्टि गरेको छ । १० जना सवार विमान दुर्घटना हुँदा त्यसमा रहेका सबै १० जनाको मृत्यु भएको हो ।

सो दुर्घटनाग्रस्त विमानका यात्रीको सूचीमा प्रिगोजिनको पनि नाम सामेल छ । मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै गरेको विमानमा ७ जना यात्री र चालक दलका तीन सदस्य थिए । विमान मस्कोको उत्तरमा रहेको टभेर क्षेबमा दुर्घटनाग्रस्त भएको हो ।

प्रिगोजिनले युक्रेन युद्ध छाडेर रुसमा फर्किएर गत जुनमा विद्रोह गरेका थिए । त्यसपछि उनी बेलारुस गएका थिए । त्यसपछि उनी कहिले र कसरी रुस फर्किए भन्ने यकिन विवरण दिइएको छैन ।

यो दुर्घटनाको दुई दिनअघि मात्रै उनको एक भिडियो बाहिर आएको थियो । एक रुसी अधिकारीले दुर्घटनाको छानबिन सुरु गरेको जनाएका छन् ।

प्रिगोजिनको जन्म १ जुन, १९६१ मा सेन्ट पिटर्सबर्गमा भएको हो । येभगेनीलाई १९८१ मा कुटपिट, डकैती र धोखाधडीको आरोपमा दोषी ठहर गर्दै १३ वर्षको जेल सजाय सुनाइएको थियो ।

तर उनलाई सोभियत संघको पतनको ९ वर्षपछि रिहा गरिएको थियो । उनले जेलबाट बाहिर आएपछि व्यापार गर्ने निर्णय गरे ।

रुसका चर्चित रेस्टुरेन्ट व्यवसायी येभगेनी पुटिनका निकट सहयोगी बनेका थिए । पुटिन विश्वका चर्चित नेतासँगका छलफल उनकै रेस्टुरेन्टमा राख्ने गर्दथे ।

सन् २००१ मा फ्रान्सका तत्कालीन राष्ट्रपति ज्याक सिराक र उनी पत्नी तथा २००२ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससँगको भेटघाट उनकै रेस्टुरेन्टमा भएको थियो ।

उनीमाथि सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन चुनाव प्रभावित पारेको आरोप समेत लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?