पाकिस्तानमा शक्तिशाली विस्फोट हुँदा ३५ जनाको मृत्यु

पाकिस्तानको उत्तर पश्चिम बाजौर जिल्लाको खार तहसिल इलाकामा शक्तिशाली विस्फोटन हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन् ।

विस्फोटन भएको स्थानमा जमीयत उलेमा–ए–इस्लाम–फज्ल (जेयूआई)ले एउटा बैठक आयोजना गरिरहेको थियो ।

अधिकारीहरूले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्नसक्ने चेतावनी दिएका छन् ।

प्रहरीले विस्फोटको कारणबारे केही खुलाएको छैन । स्थानीय टेलिभिजनहरूमा प्रसारित दृश्यहरूमा एम्बुलेन्सले आदिवासीहरूको बसोबास रहेको बाजौर जिल्लास्थित अस्पतालमा बिरामीहरू ओसारिरहेको देख्न सकिन्छ ।

सो क्षेत्र पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा पर्छ । जुन अफगानिस्तानको सीमा नजिकै छ ।

अस्पतालहरूमा मानिसहरूको घुइँचो छ भने कतिपय घाइतेहरूले उपचार प्राप्त गर्न नसकिरहेको बताइएको छ ।

अधिकारीहरूले जिल्लाको सरकारी अस्पतालमा स्वास्थ्य संकटकाल घोषणा गरेका छन् । स्थानीय अधिकारीहरूले जेयूआईका एक जना क्षेत्रीय नेता मौलाना जियाउल्लाह मारिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?