
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको बताएका छन् । उनले शान्ति वार्ताको अवधारणालाई अस्वीकार नगर्ने बताएका हुन् ।
सेन्ट पिटर्सबर्गमा अफ्रिकी नेताहरूसँगको भेटेपछि बोल्दै उनले शान्ति वार्ताका लागि अफ्रिकी नेता र चिनियाँ नेताले गरेको पहलले पनि भूमिका खेल्नसक्ने बताए ।
राष्ट्रपति पुटिनले युक्रेनी सेनाले प्रत्याक्रमण जारी राखेका बेला युद्धविराम कार्यान्वयन गर्न असहज भएको पनि बताएका छन् ।
युक्रेन र रुस दुवैले यसअघि केही पूर्वसर्तहरू पूरा नभई वार्ताको टेबलमा नआउने बताएका थिए ।
युक्रेन आफ्नो सिमाना सन् १९९१ का बेलामा जस्तै पुनर्स्थापित हुनुपर्ने पक्षमा रहेको छ । रुसले भने युक्रेनले यस क्षेत्रको नयाँ भौगोलिक वास्तविकतालाई स्वीकार गर्नुपर्ने अडान राख्दै आएको छ ।
पुटिनले पत्रकार सम्मेलनमा युक्रेनी अग्रमोर्चामा तत्काल कारबाहीको कुनै योजना नभएको बताए ।
उनले क्रेमलिनको आलोचना गर्नेहरूलाई गिरफ्तार गरिएको भन्ने आरोपको पनि खण्डन गरे । उनले केही व्यक्तिहरूले रुसलाई भित्रबाटै हानी पुर्याइरहेको बताए ।
उक्त विस्तृत पत्रकार सम्मेलनमा रुसी राष्ट्रपतिले सञ्चारकर्मीहरूलाई यसै महिनाको सुरुमा क्रिमियाको पुलमा विस्फोट भएपछि मस्कोले त्यस्ता गतिविधि रोक्न केही ‘हमलाहरू’ गरेको दाबी गरे ।
दुईजनाको ज्यान जानेगरी भएको सो घटनापछि पुटिनले त्यसलाई युक्रेनको आतंकवादी कार्य भएको दाबी गर्दै त्यसको जवाफ दिने वाचा गरेका थिए ।
रुसले कब्जा गरेको प्रायद्वीपलाई उससँग जोड्ने उक्त पुलमा भएको त्यस घटनाको जिम्मेवारी आधिकारिक रूपमा युक्रेनले लिएन ।
सात अफ्रिकी देशका नेता र प्रतिनिधिहरूले गत महिना युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र पुटिनलाई भेटेपछि रुस–अफ्रिका शिखर सम्मेलन भएको हो ।
यसैबीच आइतवार बिहान मस्कोमा ड्रोन आक्रमणमा दुईवटा कार्यालय भवनहरू क्षतिग्रस्त भएको रुसले बताएको छ ।
मस्कोका मेयर सेर्गेई सोब्यानिनले आक्रमणमा कोही पनि घाइते नभएको बताएका छन् । यो आक्रमण युक्रेनले गरेको उनको दाबी छ ।
उक्त घटनापछि मस्को माथिको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको थियो । तर केही विमानस्थलहरू पुनः सञ्चालनमा आइसकेका छन् ।
यसैगरी युक्रेनका विभिन्न सहरहरूमा पनि क्षेप्यास्त्र प्रहार भएका छन् । युक्रेनले आफ्ना सेनाहरू रुसले कब्जा गरेका सहरहरूतर्फ अघि बढिरहेको जनाएको छ । युक्रेनले रुसी फौजमाथिको प्रत्याक्रमणलाई जारी राखेको छ ।
