
अमेरिकी नागरिक तथा टीभी एङ्कर फु जियोतियानसँग अफेयर रहेको चर्चाबीच चिनियाँ विदेशमन्त्री चिन गाङ पदमुक्त भएका छन् ।
उनी ८ महिनाअघि मात्रै चीनको विदेशमन्त्रीमा नियुक्त भएका थिए । अब विदेशमन्त्रीको जिम्मा कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यीले सम्हाल्ने छन् । उनी यसअघि पनि १० वर्ष विदेशमन्त्री थिए ।
चिन गाङ एक महिनादेखि सार्वजनिक रुपमा देखिएका छैनन् । उनी बेपत्ता भएको विषयमा मन्त्रालयले पनि कुनै जानकारी दिएको थिएन ।
उनी पछिल्लो पटक गत जुन २५ मा सार्वजनिक कार्यक्रममा देखिएका थिए । गत डिसेम्बरमा मन्त्री नियुक्त हुँदा उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङका विश्वासपात्रका रुपमा हेरिएको थियो ।
‘चीनको शीर्ष विधायिकाले वाङ यीलाई विदेशमन्त्रीमा नियुक्त गरेको छ’, सरकारी समाचारसंस्था सिन्ह्वाले भनेको छ, ‘चिन गाङलाई विदेशमन्त्रीको पदबाट हटाइएको छ ।’
उनलाई पदबाट हटाउनुको कारण भने खुलाइएको छैन । तर राष्ट्रपति सीको निर्देशनमा गाङलाई पदमुक्त गरिएको सिन्ह्वले उल्लेख गरेको छ ।
चीनको विदेशनीति उच्च तहका अधिकारीले निर्माण गर्छन् र विदेशमन्त्रीलाई त्यसको कार्यान्वयन गर्न निर्देशन दिइन्छ ।
एक महिनाअघि चिन आफ्ना सामान्य जिम्मेवारीहरूमा नदेखिँदा र इन्डोनेशियामा एक सम्मेलनमा सहभागी हुन नसक्दा स्वास्थ्य समस्या देखिएको उल्लेख गरिएको थियो । तर त्यसबारे मन्त्रालयले कुनै विस्तृत विवरण नदिएका कारण विभिन्न अड्कलबाजीहरु भएका थिए ।
उनलाई राजनीतिक कारण वा विवाहोत्तर सम्बन्धका कारण कारबाही गरिएको अनुमान छ । चीनको इतिहासमा विदेशमन्त्री पदमा नियुक्त हुने उनी कम उमेरका व्यक्तिमध्येमा पर्छन् ।
१७ महिना अमेरिकामा चीनको राजदूतका रूपमा काम गरेपछि उनी विदेश मन्त्रीमा नियुक्त भएका थिए । त्यसअघि उनी विदेश मन्त्रालयका प्रवक्ता थिए ।
