बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक

बेलायती राजा चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबेमा आयोजित विशेष समारोहबीच राजमुकुट पहिरिएका छन् ।

योसँगै गत वर्ष ८ सेप्टेम्बर, २०२२ मा आमा महारानी एलिजाबेथ द्वितीयाको निधनपछि राजा बनेका उनको औपचारिक राज्यरोहण भएको हो । आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजाको शिरमा लगाइदिएका हुन् ।

जीवनमा यही एक पटक उनले ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरिने छन् । यो राजमुकुट पहिरिने राजा चार्ल्स तृतीय सातौं राजा हुन् ।

यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जर्ज पञ्चम, जर्ज छैटौं र एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए ।

उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन् ।
शनिबार आयोजित समारोहमा आर्चविशपले रानी क्यामिलालाई ‘क्वीन मेरीज् क्राउन’ पहिर्‍याइदिए ।

उक्त मुकुट पहिले जर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो ।

वेस्टमिन्स्टर एबमा विम्बहरूले भरिएको र संगीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा चार्ल्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए ।

मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी समारोहमा बाइबलको एक अंश वाचन गर्ने प्रधानमन्त्री ऋषि सुनक हिन्दू हुन् ।

समारोहको बीचबीचमा राजाले नै रोजेका संगीत बजाइएको थियो । जसमा नयाँ बनाइएका १२ वटा धुन समावेश थिए ।

पत्नी रानी क्यामिलाका साथ उनी बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो ।

राज्याभिषेक परेड हेर्न रातिदेखि नै मानिसको भीड लागेको थियो । वेस्टमिन्स्टर एबेमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि उनीहरू पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ फर्किए ।

राजा–रानी शाही परिवारका वरिष्ठ सदस्यहरूसहित बकिङ्घम दरबारको बाल्कोनीमा उभिएर सडकमा जम्मा भएका हजारौं मानिसहरूलाई हात हल्लाएका थिए ।

जहाँ प्रिन्स र प्रिन्सेस अफ वेल्स तथा उनीहरूका छोराछोरी उपस्थित थिए । राजकुमारी एन र राजुकुमार एडवर्ड समेत त्यहाँ उपस्थित भए तापनि राजकुमार ह्यारी भने देखिएनन् ।

सीएनएनका अनुसार बाल्कोनीमा परिवारसाथ उपस्थित हुन ह्यारीले निम्तो पाएका थिएनन् ।

ड्युक अफ ससिक्सकी श्रीमती मेगन र उनका दुई सन्तान राज्याभिषेक समारोहका लागि बेलायत नै आएनन् । राज्याभिषेककै दिन ह्यारीका छोरा आर्चीको चौथो जन्मदिन परेको छ ।

दरबारअगाडि भेला भएका मानिसहरूलाई अभिवादन गर्ने क्रममा फ्लाई पास्टको आयोजना समेत गरिएको थियो ।

सन् १९०२ मा राजा एड्वर्ड सप्तमको पालादेखि द मलमा रहेका मानिसहरूलाई त्यसरी अभिवादन गर्ने परम्परा छ ।
राज्याभिषेकको भव्य शाही समारोहमा संसारभरिबाट निम्त्याइएका अतिथिहरू सहभागी भएका छन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक र ७ जना पूर्व प्रधानमन्त्रीहरू राज्याभिषेक समारोहमा सहभागी भएका थिए ।

威而鋼 ck-image size-large is-resized”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?