जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि आक्रमण, आक्रमणकारी पक्राउ

टोकियो ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रमबाट सुरक्षित रूपमा उद्धार गरिएको समाचार छ ।

उनीमाथि ‘स्मोक् बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको बस्तु प्रहार गरिएको जस्तो देखिएको भन्दै स्थानीय सञ्चारमाध्यमले खबर प्रकाशन तथा प्रशारण गरेका छन् ।

घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको ती सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रहरीले सन्दिग्ध ठानिएका व्यक्तिलाई थिचिरहेको तस्बिरहरू बाहिर आएका छन्।

जापानको सार्वजनिक प्रसारक एनएचकेले घटनास्थलबाट मानिसहरू भागिरहेको दृश्य देखाएको थियो।

किशिदाले भाषण गर्न थाल्ने वित्तिकै उनलाई लक्षित गरेर एउटा वस्तु फ्यालिएको थियो।

अघिल्लो वर्ष जापानी प्रधानमन्त्री सिन्जो आबेलाई चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको थियो।

त्यसअघि जापानका सञ्चारमाध्यमहरूले किशिदाले भाषण गरिरहेको समयमा विस्फोटनको आवाज सुनिएको जनाएका थिए।
यद्यपी घटनाबारे पूर्ण विवरण आउन भने बाँकी रहेको छ ।

उक्त स्थानबाट उनलाई अन्यत्र लगिएको खबरहरूमा उल्लेख गरिएको थियो। देशको पश्चीमी शहर वाकायाममा शनिवार बिहान उक्त घटना भएको हो। अहिलेसम्म यसको पूर्ण जानकारी आइसकेको छैन्।

टेलिभिजन फुटेजमा अधिकारीहरूले इलाकालाई खाली गरिरहेको र त्यहाँबाट एक जना मानिसलाई हटाइरहेको देखिन्छ।
एउटा रिपोर्टमा प्रधानमन्त्री किशिदाको नजिकै पाइप जस्तो बस्तु फ्यालिएको जनाइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटनको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो। जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले प्रहरीले एक जना व्यक्तिलाई घटनास्थलबाट नियन्त्रणमा लिएको देखिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?