बेलारुसमा परमाणु हतियार तैनाथ गर्ने रुसको घोषणा, पठायो इस्कन्दर मिसाइल सिस्टम

रुसका राष्ट्रपति भ्लादिमिर पुुटिनले छिमेकी देश बेलारुसमा रुसी रणनीतिक परमाणु हतियार तैनाथ गर्ने घोषणा गरेका छन् ।

पुटिनले अमेरिकाले युरोपका केही स्थानमा परमाणु हतियार राखेको प्रसंग उल्लेख गर्दै रुसले बेलारुसमा गर्ने परमाणु हतियारको तैनाथीले परमाणु निरस्त्रीकरण सम्झौताको उल्लंघन नहुने दाबी गरेका छन् ।

उनले परमाणु हतियारको नियन्त्रण बेलारुसको हातमा नदिने पनि बताएका छन् ।

पुटिनले रुसी सरकारी टेलिभिजनलाई सम्बोधन गर्दै बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को लामो समयदेखि रुसी परमाणु हतियार बेलारुसमा पनि राख्नुपर्ने पक्षमा रहेको बताए । उनले यसरी मित्रदेशमा अमेरिकाले लामो समयदेखि रणनीतिक र महत्वपूर्ण हतियार राख्दै आएको बताए ।

पुटिनले रुसले यसैवर्ष जुलाई सम्म बेलारुसमा रणनीतिक हतियार भण्डारणका लागि बनाउँदै गरेको भण्डारको काम पूरा गर्ने बताए ।

उनले रुसले परमाणु मिसाइल लञ्च गर्नका लागि आवश्यक इस्कन्दर मिसाइल सिस्टम बेलारुस पठाएको पनि बताए ।

सन् १९९० को दशकपछि पहिलो पटक रुसले आफ्नो परमाणु हतियार आफ्नो देशबाहिर तैनाथ गर्न लागेको यो पहिलो घटना हो ।

सन् १९९१ मा सोभियत संघ विघटनपछि रुसले युक्रेन, बेलारुस र कजाकस्तानमा रहेका हतियार सन् १९९६ सम्म रुस फर्काउने काम पूरा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?