भूकम्पको १२८ घण्टापछि भग्नावशेषबाट बालकको जीवितै उद्धार

टर्कीमा विनाशकारी भूकम्प गएको पाँच दिनसम्म पनि भत्किएका संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ ।

भूकम्प आएको १२८ घण्टापछि एक १३ वर्षीय बालकको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ ।

अर्दा क्यान ओभुलाई दक्षिणी टर्कीमा एउटा भत्किएको घरबाट उद्धार गरिएको हो । भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एकजना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको छ ।

भत्किएको भवनबाट ती महिला र बालिकालाई निकाल्दै गरेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट भएका छन् ।

टर्कीमा गत सोमवार बिहान ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो । अपराह्न पुन ७.५ म्याग्निच्युडको दोस्रो भूकम्पले थप क्षति पु¥याएको थियो ।

दुवै भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेहरूको संख्या २४ हजार नाघेको छ । भूकम्प प्रभावित क्षेत्रहरूबाट ११० घण्टा पछिसम्म पनि एक जना किशोरीसहित कैयौं मानिसहरूको जीवितै उद्धार गरिएको छ ।

जर्मन विपद् प्रतिकार्य संस्थाले भग्नावशेषमा च्यापिएकी एकजना बालिकालाई ११० घण्टापछि जीवितै उद्धार गरेको छ ।

टर्कीको मानवीय सहायता संस्थाले समेत एकजना पुरुषलाई स्ट्रेचरमा हालेर एम्बुलेन्समा लैजाँदै गरेको भिडिओ सार्वजनिक गरेको छ ।

पहिलो र सबैभन्दा शक्तिशाली भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा शनिबार समेत परकम्पहरू महसुस भएका छन् । पछिल्लो परकम्प ४.६ म्याग्निच्युड मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?