टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

टर्कीको गाजियानटेपलाई केन्द्रबिन्दु बनाएर गत सोमबार गएको भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।

उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी कार्य जारी राखेका छन् । तर भूकम्प गएको १०० घण्टा पुगिसकेकाले भग्नावशेषमा पुरिएकालाई जिवितै भेट्ने सम्भावना कम भएको छ ।

अत्यधिक चिसो मौसमका कारण हजारौं भूकम्प पीडितको जीवन समेत जोखिममा छ । उनीहरू भूकम्पपछि आवास, पिउने पानी र खानाबाट वञ्चित भएका छन् । टर्कीका राष्ट्रपतिले यसलाई शताब्दीकै ठूलो प्रकोपको संज्ञा दिएका छन् ।

विहीवार विश्व बैंकले टर्कीलाई आधारभूत पूर्वाधारको पुनर्निर्माण र भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न तत्काल वित्तीय सहायतासहित १.७८ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

भूकम्पले क्षति गरेका ठाउँहरूमा एक लाख बढी उद्धारकर्ताहरु खटिएका छन् । तर सवारी साधनको अभाव तथा सडकहरू क्षतिग्रस्त बनेका कारण उद्धारमा कठिनाई भएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विपत्तिको पूर्ण क्षति योभन्दा ठूलो हुनसक्ने भन्दै विशेषगरी लामो समयदेखि जारी गृहयुद्धले ध्वस्त पारेको सिरियाको स्थिति थप नाजुक हुनसक्ने चेतावनी दिए ।

बिहीवार इडलिब प्रान्तको बाब अल–हवा क्रशिङ हुँदै उत्तर–पश्चिम सिरियामा पहिलो संयुक्त राष्ट्र संघीय मानवीय सहायता पठाइएको छ ।

सिरियाली सरकार पक्षधर सेना नियन्त्रित क्षेत्रहरूमा नपुगी संयुक्त राष्ट्र संघको सहायता प्रभावित क्षेत्रमा पुग्ने एक मात्र बाटो उक्त क्रशिङ हो ।

गुटेरसले थप सहयोग पठाउने प्रतिबद्धता जनाउँदै संयुक्त राष्ट्र संघ स樂威壯 ुरक्षा परिषद्लाई एकभन्दा बढी सीमामार्फत सहायता पठाउने अनुमति दिन आग्रह गरे ।

ह्वाइट हेल्मेट उद्धार समूहका अनुसार त्यस क्षेत्रमा पुगेको संयुक्त राष्ट्र संघको एक मात्र समूहसँग भग्नावशेषमुनि पुरिएका मानिसहरूको उद्धार गर्न आवश्यक विशेष उपकरणहरू थिएनन् ।

टर्कीमा हालसम्म भूकम्पमा परी १७ हजार १३४ जनाको मृत्यु भएको र सिरियामा कम्तीमा ३ हजार १६२ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

यससँगै सन् १९९९ मा उत्तरपश्चिम टर्कीमा गएको भूकम्पका कारण ज्यान गुमाएका १७ हजार भन्दा बढी मानिसको मृत्यु पुष्टि भएको छ ।

टर्की र सिरियाका दशौं हजार मानिस भूकम्पका कारण घरबारविहीन भएपछि अत्यधिक चिसोमा अस्थायी आश्रयस्थलहरूमा चौथो रात बिताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?