टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो

टर्कीका राष्ट्रपति रिसेप तैय्यप एर्दोआनले शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताएका छन् ।

टर्की र उत्तरी सिरियामा भूकम्पमा परी १२ हजार भन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा आपतकालीन सेवाहरू उपलब्ध गराउन निकै ढिला भएको र सरकारको तयारी कमजोर रहेको भन्दै आलोचना भइरहेको छ ।

राष्ट्रपति एर्दोआनले सरकारले केही समस्याहरूको सामना गरेको स्वीकार गरेका छन् । तर अहिले स्थिति नियन्त्रणमा रहेको भन्दै बचाउ गरेका छन् ।

यद्यपि, टर्कीका प्रमुख प्रतिपक्षी दलका नेता केमाल किलिचदारोग्लुले उनको कुराको खण्डन गरेका छन् ।

उनले टर्कीको भूकम्पबाट भएको ठूलो क्षति र उद्धार तथा राहत कार्यमा ढिलाई हुनुको आरोप राष्ट्रपति एर्दोआनमाथि लगाएका छन् । राष्ट्रपतिले सो आरोपको खण्डन गर्दै विपद्पछि एकता आवश्यक रहेको बताए ।

छिमेकी मुलुक सिरियामा लामो द्वन्द्वका कारण देशको पूर्वाधारहरू ध्वस्त भएका छन् । जसले गर्दा त्यहाँ राहत पु¥याउने प्रयासहरू जटिल बनेका छन् ।

टर्की र सिरियाबीचको अन्तर्राष्ट्रिय सिमाना बाब अल–हवा क्रशिङ क्षेत्रमा भूकम्पपछि सडकहरू क्षतिग्रस्त भएका कारण बन्द गरिएको छ ।

संयुक्त राष्ट्रका एक जना वरिष्ठ अधिकारीले भने उक्त सडकमा चाँडै पहुँच हुन सक्ने बताए । टर्कीका विदेशमन्त्री मेभलुट कभुसोग्लुका अनुसार देशमा सहायता भित्र्याउन सीमाका थप दुई वटा द्वारहरू खोल्ने काम भइरहेको छ ।

टर्की र अन्तर्राष्ट्रिय समुदायको सहायता सिरियासम्म पुर्‍याउने कार्यमा केही कठिनाइहरू छन् । त्यसैले थप दुई वटा सीमा द्वारहरू खोल्ने प्रयास भइरहेको छ ।

सिरिया सरकारको सहयोग आह्वानपछि ईयूले ३५ लाख यूरो आर्थिक सहायता हस्तान्तरण गर्ने पुष्टि गरेको छ । यद्यपि, उक्त रकम सरकार तथा विद्रोही दुवै नियन्त्रित क्षेत्रहरूमा पु¥याउनु पर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?