टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

टर्की र सिरियामा सोमवार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ ।

टर्कीमा मात्रै भूकम्पबाट ८ हजार ५७४ जनाको मृत्यु भएको पुष्टि भइसकेको विपद्सम्बन्धी निकायले जनाएको छ ।

सिरियामा मृतकको संख्या पुष्टि गर्न कठिन भइरहेको छ । हालसम्म सिरियामा २ हजार २६२ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यम र सहायता संस्थाहरूले जनाएका छन् ।

सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन् । भूकम्पले क्षतिग्रस्त भवनहरु पन्छाउने क्रम जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी राखिएको छ । भूकम्प गएको तीन दिन हुन लाग्दा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ ।

टर्कीमा सोमवार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टापछि ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

केही स्थानमा उद्धार कार्य ढिला भएको पीडित परिवारले गुनासो गरेका छन् ।

धेरैले ट्विटरमार्फत मद्दतको आग्रह गरेका छन् । उनीहरूले आफ्ना आफन्तहरू भग्नावशेषमुनि रहेको र भूकम्प गएदेखि सहायता नपाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?