जापानका प्रमुख शहरमा छक्का पञ्जा–४ प्रदर्शन हुँदै

जापानका सबै प्रमुख शहरहरुमा बहुप्रतिक्षित नेपाली चलचित्र छक्का पञ्जा–४ प्रदर्शन हुने भएको छ ।

यो चलचित्रले ओरालो लागेको नेपाली चलचित्र उद्योगको व्यापारलाई गति दिनसक्ने विश्वास गरिएको छ ।

जापानमा अहिलेसम्मकै धेरै शहरमा प्रदर्शनको कीर्तिमान बनाउन लागेको चलचित्र छक्का पञ्जा–४ दुई महिना पहिले नै एक दर्जन शहरमा प्रदर्शन तय भइसकेको जापानका लागि चलचित्र वितरणको अधिकार पाएको आन्भी ईन्टरटेनमेन्टका पवन थापाले जानकारी दिए ।

छक्का पञ्जाको यसअघिका तीन सिरिजमा अत्यधिक सफलता र चलचित्रको व्यापारले नेपाली चलचित्र उद्योगमा कीर्तिमान बनाएको समूहले नै चलचित्र छक्का पञ्जा–४ को निर्माण गरेको छ । हाल छायांकनपश्चात पोष्ट प्रोडक्सनमै रहेको चलचित्र नेपालमा फागुन १९ गते प्रदर्शनको मिति तय भएको छ ।

हालसम्म जापानको राजधानी टोकियोसहित नागोया, ओसाका, कोबे, क्योतो, तोचिगी, चिबा, शिजुओका, हिरोसिमा, ओकिनावा, फुकुओका, योकोहामा, गुन्मा, सेन्दाईलगायतका शहरमा प्रदर्शन हुने तय भइसकेको चलचित्र वितरणको जिम्मेवारी सम्हालेका उमेश खड्काले जानकारी दिए ।

यसबाहेक क्युसुको ओगोरी, तोसु, कुरुमेसहित फुस्सा, नागासाकी, कुमामोतो, ओइता, फुकुशिमालगायतका शहरमा पनि प्रदर्शनको तयारी भइरहेको बताइएको छ ।

जापानका दुई दर्जन शहरबाट चलचित्र प्रदर्शन गर्न चाहेको भन्दै प्रस्ताव आएको र आफूहरुले ठाउँ तथा उक्त स्थानमा नेपालीहरुको उपस्थिति समेतलाई मध्यनजर गरेर प्रदर्शन गर्नेगरी छलफल गरिरहेको खड्काले बताए ।

चलचित्रको पहिलो शो भने राजधानी टोकियोमा मार्च १२ तारिख आइतबार मेगुरो पर्सिमोन हलमा हुने भएको छ ।
जापानमा प्रदर्शन तय भइसकेका बाहेकका शहरमा चलचित्र प्रदर्शन गर्न ईच्छुक व्यक्ति, समूह वा संस्थाहरुले सम्पर्क गर्नसक्ने खड्काले बताए ।

चलचित्र आमा सरस्वती मुभिज प्रा.लि.को प्रस्तुतीमा दिपकराज गिरी र दिपाश्री निरौलाले निर्माण गरेका हुन् । हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दिपक, दिपासँगै केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?