युक्रेनका चार राज्य रुसमा गाभिएको पुटिनको घोषणा

रुसले युक्रेनका चार राज्य रुपमा गाभिएको घोषणा गरेको छ । क्रेमलिनको सेन्ट जोर्जेज हलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार क्षेत्रका नेताहरुसहित युक्रेनी क्षेत्र रुपमा गाभेको सन्धिमा हस्ताक्षर गरेका हुन् ।

पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भूभागको रक्षा गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताएका छन् । उनले युक्रेनलाई सैन्य कारबाही रोकेर वार्ताको टेबलमा बस्न समेत आग्रह गरेका छन् ।

उता युक्रेनले भने उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को सदस्य हुन नयाँ र छिटो प्रक्रिया सुरु गरेको छ ।

आफ्ना प्रधानमन्त्री र संसदका सभामुखसाथ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सीमालाई परिवर्तन गर्ने मस्कोले हत्या, झुक्याउने काम, गलत व्यवहार र झूट प्रयोग गरेको आरोप लगाए ।

रुसी राष्ट्रपति पुटिनले युक्रेनका लुहान्स्क, डोनेस्क, जापोरिजिया र खेरसानका जनताको रोजाईअनुसार नै रुसमा गाभिएको बताए । यी क्षेत्रमा २७ सेप्टेम्बरमा जनमत संग्रह भएको थियो । तर ती क्षेत्रमा गरिएका जनमतसंग्रह छद्म भएको भन्दै निन्दा हुँदै आएको छ ।

संयुक्त राष्ट्रसंघ, युक्रेन र उसका साझेदारहरूले ती जनमतसंग्रहलाई गैरकानुनी भन्दै आलोचना गर्दै आएका छन् ।

राष्ट्रसंघले त्यसरी अर्को देशको भूमि आफूमा गाभ्नुले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको जनाएको छ । रुसले युक्रेनका चार क्षेत्रमा नियुक्त गरेका नेताहरूले औपचारिक पत्रमा हस्ताक्षर गरेका छन् ।

ती क्षेत्रलाई रुसी महासंघमा समाहित गर्ने औपचारिक प्रक्रिया आगामी केही दिनमा हुनेछ । बिहीवार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेर्रेसले युक्रेनका क्षेत्रहरू गाभ्ने रुसी योजनाको निन्दा गरेका थिए ।

यसैबीच युरोपेली संघअन्तर्गतका देशहरूले रुसको कदमको निन्दा गर्दै त्यसलाई अस्वीकार गर्ने बताएका छन् । युक्रेनी भूभागलाई आफूमा गाभ्ने रुसको कदमलाई उनीहरूले गैरकानुनी भनेका छन् ।

सन् २०१४ मा पनि रुसले युक्रेनको क्रिमियालाई जनमत संग्रहमार्फत रुसमा बिलय गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?