सामाजिक सञ्जालमा दाबी : सी जिनपिङ घरमै नजरबन्दमा, सेनाध्यक्षबाट हटाइयो

चिनियाँ राष्ट्रपति सी जिनपिङलाई घरमै नजरबन्दमा राखिएको खबर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भारतीय अनलाइन दैनिक भास्करका अनुसार ह्यासट्याग सी जिनपिङमा हजारौं ट्विट भएका छन् । जसमा भाजपाका पूर्वसांसद सुब्रमन्यम स्वामी समेत छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी र सरकारी मिडियाले भने यस्तो प्रचारबारे अहिलेसम्म मुख खोलेका छैनन् ।

भाजपाका पूर्वसांसद स्वामीले लेखेका छन्– चीनबारे एक नयाँ अफवाह आएको छ । जसबारे जाँच हुन आवश्यक छ । के सी जिनपिङ नजरबन्दमा छन् ? सी समरकन्दमा रहेका बेला नै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले उनलाई सेनाध्यक्षबाट हटाएको थियो । त्यसपछि उनलाई घरमै नजरबन्द गरेको अफवाह छ ।’

चिनियाँ प्रयोगकर्ताले समेत देशमा सत्तापलटको आशंका गर्दै पोस्ट गरिरहेका छन् । चिनियाँ जनमुक्ति सेनाले सीलाई राष्ट्रपतिबाट हटाएर सत्ता आफ्नो हातमा लिएको दाबी गरिएको छ । कतिपयले भने ली कियाओमिङलाई चीनको नयाँ राष्ट्रपति बनाएको दाबी गरेका छन् ।

चीनका पब्लिक सेक्युरिटी डिपार्टमेन्टका पूर्व सहायकमन्त्री सन लिजुनलाई मृत्युदण्ड सुनाइएको छ । लिजुनमाथि आफ्नो पदको दुरुपयोगको आरोप लागेको थियो । उनले आफ्नो २० वर्षको कार्यकालमा ६४६ मिलियन युआन घुस लिएको र भ्रष्टाचार गरेको आरोप थियो ।

सिन्ह्वा न्युजको २०२१ को एक रिपोर्ट अनुसार सनलाई अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेकोमा कम्युनिस्ट पार्टीबाट हटाइएको थियो ।

यसअघि उनलाई स्टक मार्केट घोटाला काण्डमा ८ वर्ष जेल सजाय सुनाइएको थियो । सी सत्तामा आएपछि सनमाथि कारबाही गरेको पहिलो घटना होइन ।

त्यसअघि तीन जना प्रहरी अधिकारीलाई भ्रष्टाचारको आरोपछि मृत्युदण्डको सजाय सुनाइएको थियो ।

चीनका पूर्व न्यायमन्त्री तथा चीनका सबैभन्दा शक्तिशाली प्रहरी प्रमुखमध्ये एक फु झेंगहुवालाई २२ सेप्टेम्बरमा चीनको पिपुल्स कोर्ट अफ चांगचुनले १७.३ मिलियन अमेरिकी डलर भ्रष्टाचार र सत्ता दुरुपयोगको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

उनीहरु सबैमाथि सी जिनपिङको विरोध गरेको आरोप छ । उनीहरुमाथि सीविरोधी राजनीतिक गुटमा सहभागी भएको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?