बेलायती महारानी एलिजाबेथको राजकीय सम्मानका साथ अन्त्येष्टि

बेलायती महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ ।

विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज च्यापलमा महारानीको शवपेटिकालाई अन्तिम बिदाइ स्वरूप ‘कमिटल सर्भिस’ आयोजना गरिएको थियो ।

त्यसपछि उनलाई त्यहाँ निर्दिष्ट गरिएको स्थानमा समाधिस्थ गरिएको हो । महारानीको अन्तिम संस्कारसँगै बेलायतमा दश दिने सार्वजनिक शोक अन्त्य भएको छ । राजपरिवारका सदस्यहरुले भने अझै केही दिन शोक मनाउनेछन् ।

अन्त्यष्टिअघि विन्ड्सरमा शवयात्राका क्रममा हजारौं मानिसको भिड देखिएको थियो ।

सोमबारै बेलायतको राजधानी लण्डनस्थित प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्न भएको थियो ।

द डिन अफ वेस्टमिन्स्टरले सो समारोहको नेतृत्व गर्ने क्रममा ‘आजीवन बहन गरेको उत्तरदायित्व’ प्रति कृतज्ञता व्यक्त गरेका थिए ।

राजा चाल्र्स तृतीयले मलिन भावमा आफ्नी आमाको शवपेटिका पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबीसम्मको शवयात्राको नेतृत्व गरेका थिए ।

डीन डेभिड होइलले समारोह सुरु गर्ने क्रममा एलिजाबेथ द्वितीयाले ‘महारानी र राष्ट्रमण्डलको प्रमुखका रूपमा कैयौँ वर्षसम्म उच्च जिम्मेवारीका लागि अटल प्रतिबद्धता’ प्रस्तुत गरेको बताएका थिए ।

उनले भने, ‘सम्मानसाथ हामीले उनको जीवनभरको जिम्मेवारी बोध र आफ्ना नागरिकप्रतिको प्रतिबद्धताको स्मरण गर्छौं ।’

महारानीको शवपेटिका वेस्टमिन्स्टर एबेमा प्रवेश गर्दा भजन मण्डलीले संगीतबद्ध ढंगले श्लोकहरू गाएका थिए । जुन परम्परा १८औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चल्दै आएको छ । प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थको एक अध्याय पाठ गरिन् ।

समारोहको अन्त्यतिर देशभर दुई मिनेटको मौन धारण गरिनुअघि द लास्ट पोस्ट धुन बजाइएको थियो । लण्डनस्थित एक प्रसिद्ध युद्ध स्मारक वेलिङ्टन आर्चबाट दिवंगत महारानीको शव राखिएको पेटिका नयाँ राजकीय शववाहनमा स्थानान्तरण गरेर त्यो विन्डसर कासलतर्फको अन्तिम यात्रामा लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?