
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका छन् । उनले उज्वेकिस्तानमा भएको भेटमा युक्रेन मामिलामा बेइजिङको सन्तुलित अडानका लागि धन्यवाद दिएका हुन् ।
रुसले गत फेब्रुअरीमा युक्रेनमाथि हमला गरेपछि रुस र चीनका राष्ट्रपतिबीच पहिलो पटक प्रत्यक्ष भेट भएको हो । पुटिनले एकल ध्रुवीय विश्व खडा गर्ने प्रयासहरूको निन्दा गरेका छन् ।
राष्ट्रपति सीले चीनले ठूला शक्तिका रूपमा रुससँग सहकार्य गर्न खोजेको बताएका छन् । भेटवार्तापछि प्रतिक्रिया दिँदै उनले रुसलाई कुनै नयाँ सहयोगको घोषणा नगरेको बताए ।
चीनले युक्रेनमा रुसको आक्रमणलाई समर्थन गरेको छैन । तर युद्ध सुरु भएयता रुससँगको व्यापार बढ्दो क्रममा छ ।
पछिल्ला दिनमा रुसी फौजले यसअघि नियन्त्रणमा लिएका युक्रेनी क्षेत्रहरू गुमाइरहँदा सांघाई सहयोग संगठनको सम्मेलनका क्रममा दुई नेताबीच भेट भएको हो ।
दुवै नेताहरूबीच यसअघि शीतकालीन ओलिम्पिकका क्रममा बेइजिङमा भेट भएको थियो । रुसले युक्रेनमा आक्रमण सुरू गरेपछि बेइजिङले युद्ध अन्त्यको आह्वान गर्दै सार्वभौमिकताको महत्वमा जोद दिँदै आएको छ ।
युरोपले रुसी तेल र ग्यासमाथिको निर्भरता कम गर्ने प्रयास गरिरहँदा चीनले आफ्नो ऊर्जा खरिद बढाएको छ ।