यसरी गरिनेछ महारानी एलिजाबेथको अन्त्येष्टि

बेलायतको इतिहासमा सबैभन्दा लामो समय राजगद्दीमा बसेकी महारानी एलिजाबेथ द्वितीयाको निधनसँगै विश्वभरबाट शोक व्यक्त गरिएको छ ।

महारानी एलिजाबेथ द्वितीयाले बिहीबार स्टकल्याण्डको बालमोरल काशलमा आफ्ना परिवारका सदस्यमाझ अन्तिम श्वास लिएकी हुन् ।

उनको निधनसँगै बालमोरल काशल र लण्डनस्थित बकिंघम दरबारमा शुभेच्छुहरुको ठूलो भीड लागेको छ । उनको शबलाई अन्तिम श्रद्धान्जलीका लागि लण्डन ल्याएर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

महारानीको शव लण्डन ल्याइएपछि श्रद्धाञ्जलीका लागि वेस्टमिनिस्टर हलमा चार दिनका लागि राखिनेछ । प्यालेस अफ वेस्टमिन्स्टरको सबैभन्दा पुरानो भागमा उक्त भव्य हल रहेको छ ।

यसअघि उक्त हलमा श्रद्धाञ्जलीका लागि राखिएकी शाही परिवारको पछिल्लो सदस्य महारानीकी आमा थिइन् । सन् २००२ मा उनको शवपेटिकामा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न दुई लाखभन्दा धेरै मानिसहरू लामबद्ध भएका थिए ।

११ औं शताब्दीको मध्यकालीन काठले बनेको छतमुनि क्याटाफल्क भनिने अग्लो मञ्चमा महारानीको शवपेटिका राखिनेछ । सो संरचनालाई राजदरबारको सेवामा खटिएका सेनाको इकाइले चारैतिरबाट सुरक्षा प्रदान गर्नेछ ।

उनको शवलाई शाही परिवारका सदस्य र सेनाको परेडसहित शवयात्रा गर्दै बकिंघम दरबारबाट वेस्टमिन्स्टर हलसम्म पुर्‍याइनेछ ।

त्यसरी लगिँदा गल्लीहरू हुँदै लगिने र त्यसको प्रशारण ठूला स्क्रिन र लण्डनका शाही पार्कहरूमा गरिनेछ । यसबाट सर्वसाधारणले प्रत्यक्ष प्रशारण हेर्न पाउनेछन् ।

महारानीको शवपेटिकालाई बेलायत र उसको सार्वभौमिकताको प्रतिनिधित्व गर्ने शाही झण्डा रोयल स्ट्यान्डर्डले ढाकिनेछ र वेस्टमिन्स्टर हलमा लगिएपछि शवमाथि इम्पेरियल स्टेन क्राउन, राजदण्ड राखिनेछन् ।

शवपेटिकालाई हलमा राखिएपछि एउटा सानो समारोह हुनेछ । त्यसपछि सर्वसाधारणलाई भित्र आउने अनुमति दिइनेछ ।
महारानीको राजकीय अन्तिम संस्कार १० दिनपछि वेस्टमिन्स्टर एबेमा हुने बताइएको छ । यसबारे बकिंघम दरबारले पुष्टि गरिसकेको छैन ।

एबे एउटा ऐतिहासिक गिर्जाघर हो जहाँ ब्रिटेनका राजा र रानीहरूलाई राजमुकुट पहिराइन्छ र गद्दी आरोहण गराइन्छ । साथै सन् १९५३ मा महारानीको राज्यारोहण समारोह पनि त्यहीँ भएको थियो र राजकुमार फिलिपसँग सन् १९४७ मा उनले विवाह पनि त्यहीँ गरेकी थिइन् ।

१८औं शताब्दीयता एबेमा कुनै पनि राजा वा रानीको अन्तिम संस्कार भएको छैन । यद्यपि सन् २००२ मा महारानीकी आमाको भने त्यहीँ गरिएको थियो ।

महारानीको जीवन र उनले गरेको सेवाको स्मरण गर्न शाही परिवारका सदस्यहरूसँगै विश्वभरिका राष्ट्रप्रमुखहरू पनि अन्त्येष्टिमा उपस्थित हुनेछन् । बेलायतका वरिष्ठ राजनीतिज्ञहरू र पूर्वप्रधानमन्त्रीहरू पनि सहभागी हुनेछन् ।

अन्तिम संस्कार गर्ने दिन शाही नौसेनाको स्टेट गन क्यारिएजमा राखेर महारानीको शवपेटिकालाई वेस्टमिन्स्टर हलबाट वेस्टमिन्स्टर एबेमा लगिनेछ ।

पछिल्लोपटक सन् १९७९ मा राजकुमार फिलिपका काकाको अन्तिम संस्कारका बेला गन क्यारिएज देखिएको थियो । जसको सञ्चालन शाही नौसेनाका १४२ नौसैनिकले गरेका थिए ।

त्यसरी महारानीको शवपेटिका एबेमा लगिँदा राजासहित शाही परिवारका वरिष्ठ सदस्यहरू पनि साथमा हुनेछन् ।
सम्भवतः अन्तिम संस्कार समारोहको सञ्चालन वेस्टमिन्स्टरका डिन डेभिड होयलले गर्ने र क्यान्टरबरीका आर्चविशप जस्टिन वेल्बीले धार्मिक प्रवचन दिनेछन् ।

अन्तिम संस्कारका क्रममा महारानीको शवपेटिकालाई शववाहनमा राखेर विन्ड्सरतर्फ लैजानुअघि एबेबाट लण्डनको हाइड पार्क कर्नरस्थित वेलिङ्टन आर्चमा लगिनेछ ।

महारानीको शवपेटिकाको अन्तिम यात्रा त्यही दिन मध्यान्हपछिको समयमा विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज च्यापलसम्म हुनेछ ।

विन्ड्सर कासलस्थित क्वाड्र्याङ्गलमा हुने कार्यक्रममा राजासहित शाही परिवारका वरिष्ठ सदस्यहरू पनि सहभागी हुने ठानिएको छ । त्यसपछि अन्तिम बिदाइका लागि शवपेटिका सेन्ट जोर्जेज च्यापलमा प्रवेश गराइनेछ ।

विवाह, बच्चाको नामाकरण वा अन्तिम संस्कारका लागि शाही परिवारको रोजाइमा निरन्तर रुपमा सेन्ट जोर्जेज च्यापल गिर्जाघर नै पर्दै आएको छ ।

यही च्यापलमा नै ड्यूक एण्ड डचेज अफ ससेक्स प्रिन्स ह्यारी र मेगनले विवाह गरेका थिए र महारानीका पति राजकुमार फिलिपको पनि यहीँ अन्तिम संस्कार गरिएको थियो ।

सेन्ट जोर्जेज च्यापलभित्र रहेको राजा जोर्ज छैठौंको स्मारकमा समाधिस्थ गर्नुअघि महारानीको शवपेटिकालाई रोयल भल्टमा राखिनेछ । बीबीसी रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?