
बेलायतकी महारानी एलिजाबेथको स्वास्थ्य अवस्था अचानक बिग्रिएको छ ।
चिकित्सकले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गर्दै निरन्तर निगरानीमा राखेका छन् । ९६ वर्षीया महारानी एलिजाबेथ गत वर्षको अक्टोबरदेखि नै विभिन्न स्वास्थ्य समस्याको सामना गर्दै आएकी छन् ।
उनलाई उभिन र हिँड्न समस्या भइरहेको छ । बुधबार महारानीको पूर्वनिर्धारित प्रिभी काउन्सिलको बैठकमा समेत सहभागी भइनन् । चिकित्सकले स्वास्थ्यलाई लिएर चिन्ता जनाएका थिए ।
बकिंघम दरबारले एक विज्ञप्ति जारी गर्दै महारानी एलिजाबेथको स्वास्थ्य परीक्षणपछि चिकित्सकले चिन्ता जनाएको र मेडिकल निगरानीमा राख्न सल्लाह दिएको जनाएको छ ।
उनी स्कटल्याण्डमा आराम गरिरहेकी छन् । प्रिन्स चार्ल्स डचेस अफ कार्नवालसँग बालमोरा पुगेका छन् भने ड्युक अफ क्याम्ब्रिज पनि त्यहाँ पुग्ने बताइएको छ ।