सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभको निधन, विश्वका नेताद्वारा दुःख व्यक्त

तत्कालीन सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ ।

उनी लामो समयदेखि गम्भीर बिरामी भएपछि मस्कोस्थित सेन्ट्रल क्लिनिकल अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव गोर्बाचोभले सोभियत संघलाई खुला गर्ने नीति अँगालेका थिए । तर उनले सोभियत संघको विघटन रोक्न भने सकेनन् ।

गोर्बाचोभ सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको नेतृत्वमा रहे । उनको खुलापनबारेको नीति ग्लास्नोस्त र पुनर्गठनको नीति पेरेस्त्रोइका चर्चित कार्यक्रम हुन् । त्यसअघि कम्युनिस्ट सरकारको आलोचना गर्न पाइदैन थियो ।

सोभियत संघको आधुनिकीकरणका लागि ल्याएका यी नीतिले भने शृङ्खलाबद्ध विघटन निम्त्यायो र सोभियत संघ नै ढल्न पुग्यो । यद्यपि शीतयुद्ध अन्त्यमा उनको मुख्य भूमिका मानिन्छ ।

कतिपय रुसीहरूले सोभियत संघको विघटनका कारण गोर्बाचोभलाई मन पराउँदैनन् । गोर्बाचोभ ५४ वर्षको उमेरमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव र सोभियत संघको नेता बनेका थिए । त्यतिखेर शक्तिशाली पोलिटब्यूरोमा उनी सबैभन्दा कान्छा सदस्य थिए ।

उनीभन्दा अघिका राष्ट्रपति कन्स्टान्टीन चेर्नेन्कोको एक वर्षअघि ७३ वर्षको उमेरमा निधन भएको थियो । अन्तर्राष्ट्रिय मञ्चमा गोर्बाचोभले अमेरिकासँग परमाणु निशस्त्रीकरणको सम्झौता गरेका थिए भने पूर्वी युरोपेली देशका जनता त्यहाँका कम्युनिस्ट शासकविरुद्ध उत्रिदा हस्तक्षेप गर्न अस्वीकार गरेका थिए ।

सन् १९९० मा उनलाई सोभियत संघमा सुधार र पूर्व र पश्चिमका देशहरुको सम्बन्ध सुधारका साथै शीतयुद्ध अन्त्यमा भूमिका खेलेको भन्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

तर सन् १९९१ पछि उदाएको नयाँ रुसमा भने उनी राजनीतिको किनारामा पुगे । त्यसपछि उनले आफ्नो ध्यान शिक्षा तथा मानवीय कार्यहरूमा लगाए ।

सन् १९९६ मा उनले एक पटक फेरि राजनीतिक जीवनमा फर्किने विफल प्रयास गरेका थिए । त्यतिखेरको राष्ट्रपति निर्वाचनमा उनले केवल ०.५५ प्रतिशत मत मात्र पाएका थिए ।

अमेरिकाका प्रतिष्ठित कूटनीतिज्ञ हेनरी किसिन्जरले गोर्बाचोभलाई मानवजाति र रुसी जनताको फाइदा हुनेगरी भएका ऐतिहासिक परिवर्तन सुरु गरेको व्यक्तिको रूपमा इतिहासले स्मरण गर्ने बताएका छन् ।

गोर्बाचोभको निधनप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गहिरो समवेदना व्यक्त गरेको क्रेम्लिनका प्रवक्ता डिमित्री पेस्कोभले जनाएका छन् ।

सोभियत संघ विघटनताका अमेरिकी विदेशमन्त्रीको पदमा रहेका जेम्स बेकरले गोर्बाचोभलाई इतिहासले आफ्नो देशलाई प्रजातन्त्रतर्फ र्डोयाएका महान् नेताको रूपमा स्मरण गर्ने बताएका छन् ।

फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोंले गोर्बाचोभलाई युरोपेली शान्तिप्रति प्रतिबद्ध व्यक्ति भन्दै उनका कार्यले युरोपको साझा इतिहासनै मोडिएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले गोर्बाचोभलाई विरल कोटिका राजनेता तथा सधैँ शान्तिको वकालत गर्ने व्यक्तिको संज्ञा दिएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले गोर्बाचोभको साहस र इमानको आफू प्रशंसक भएको बताएका छन् ।

‘अहिले युक्रेनमा पुटिनको अतिक्रमणको समयमा गोर्बाचोभले सोभियत समाजलाई खुला गर्न देखाएको दह्रो कटिबद्धता हामी सबैका निम्ति उदाहरणीय छ’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?