अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमणलगत्तै चीनले सुरु गरेको व्यापक सैन्य अभ्यासका क्रममा ताइवान र आसपासका क्षेत्रमा क्षेप्यास्त्रहरु प्रहार गरेको छ ।

चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा आइपुगेको भन्दै जापानले कडा आपत्ति जनाएको छ ।
जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको जनाएका छन् ।
ताइवानले पनि आफ्नो भूमि वरपर झण्डै एक दर्जन क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।
चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पेलोसीको भ्रमण एक चीन नीतिको उल्लंघन र सार्वभौमसत्तामाथिको हस्तक्षेपका रुपमा लिएको छ ।
चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा डङ्फेङ् ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । यसको प्रतिक्रियामा ताइवानले पनि प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएको छ ।
ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको बताएको छ । चीनको सैन्य अभ्यासका कारण ताइवानबाट उड्ने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरु रद्द भएका छन् ।