
अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमण लगत्तै एसिया प्रशान्त क्षेत्रमा तनाव सिर्जना भएको छ ।
पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवान र आसापासका इलाकामा ठूलो मात्रामा सैन्य अभ्यास सुरु गर्दैछ । ताइवानले यसअघि नै चीनका २७ वटा युद्धक विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।
चीनले सैन्य अभ्यास संसारकै व्यस्त जलमार्गमा हुने र यसक्रममा लामो दुरीसम्म गोलाबारुद प्रहार गर्ने जनाएको छ ।
ताइवानले यस अभ्यासबाट बच्नका लागि जहाजहरुलाई वैकल्पिक मार्ग खोज्न अनुरोध गरेको छ । साथै उसले छिमेकी जापान र फिलिपिन्ससँगैका वैकल्पिक मार्ग प्रयोग गर्न समेत भनेको छ ।
चीनको चेतावनीका बाबजुद न्यान्सी पेलोसी ताइवान पुगेकी थिइन् । चीनको सैन्य अभ्यासलाई लिएर जी–७ का विदेशमन्त्रीले वत्तव्य जारी गरेर चीनको कारबाहीले यो क्षेत्रमा अस्थिरता ल्याउने जोखिम बढेको बताएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘एउटा भ्रमणका बहानामा ताइवानमा चीनको आक्रामक सैन्य गतिविधिको कुनै औचित्य छैन । हाम्रा देशमा सांसदहरु नियमित रुपमा अन्तर्राष्ट्रिय भ्रमण गर्छन्, यो सामान्य हो ।’
चीनले भने पेलोसीको भ्रमणले कथित लोकतन्त्रको नाममा चीनको सम्प्रभुताको उल्लंघन भएको भन्दै यसको परिणाम नराम्रो हुने चेतावनी दिएको छ ।
चिनियाँ विदेशमन्त्रीले भनेका छन्, ‘जो आगोमा खेल्छ, उसको अन्त्य राम्रो हुँदैन र चीनविरुद्ध उकास्नेलाई सजाय दिइनेछ ।’