ताइवानका विषयलाई लिएर अमेरिका र चीनले दिए एक अर्कालाई चेतावनी

ताइवानका विषयलाई लिएर अमेरिका र चीनले एक अर्का देशलाई चेतावनी दिएका छन् ।

अमेरिकी र चिनियाँ राष्ट्रपतिहरूबीच भएको दुई घण्टा लामो टेलिफोन संवादका क्रममा दुवैले ताइवानको विषयलाई लिएर अर्कालाई चेतावनी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ताइवानको हैसियत परिवर्तन गर्ने एक पक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको जनाएका छन् ।

उनले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गरेका छन् ।

चीनले भने राष्ट्रपति सीले बाइडनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न स्मरण गराउँदै ‘आगोसँग खेल्ने मान्छे जल्ने’ चेतावनी दिएको उल्लेख गरेको छ ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणमा जान लागेको चर्चासँगै दुई देशबीच तनाव चुलिएको छ ।

अमेरिकाको परराष्ट्र मन्त्रालयले पेलोसीले भ्रमण गर्ने योजना नरहेको जनाएको छ । चीनले उनले भ्रमण अघि बढाए गम्भीर परिणामु निम्तिन सक्ने चेतावनी दिएको छ ।

अमेरिकी उपराष्ट्रपतिपछिको बरियातामा रहेकी पेलोसी ताइवान गएमा उनी सन् १९९७ पछि सो क्षेत्र भ्रमण गर्ने अमेरिकाको सबैभन्दा उच्च राजनीतिज्ञ हुनेछिन् ।

बाइडन अमेरिकाको उपराष्ट्रपति हुँदा उनको निमन्त्रणामा सन् २०१५ मा सी ले अमेरिका भ्रमण गरेका थिए । तर बाइडेन राष्ट्रपति भएपछि भने दुई नेताबीच भेट भएको छैन ।

चीनले ताइवानलाई आफ्नै देशबाट अलग रहेको प्रदेशका रूपमा लिँदै मुख्य भूभागमा सामेल गराउने रणनीतिमा छ । चीनले ताइवानलाई मुख्य भूमिमा मिलाउन बल प्रयोग गर्ने समेत बताइरहेको छ ।

अमेरिका भने ताइवानलाई अलग क्षेत्रका रुपमा रहेको हेर्न चाहन्छ । ताइवान अमेरिकाको ठूलो हतियारको बजार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?