नेपालमा एचआइभी संक्रमितको संख्या ३२ हजार

काठमाडौं । नेपालमा साढे ३२ हजारमा एचआईभी एड्स संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

सन् २०१६ को अन्त्यसम्म नेपालमा ३२ हजार ७३५ जनालाई एचआईभी संक्रमण भएको पाईएको हो । तिमध्ये २० हजार २३२ जना पुरुष रहेका छन् भने १२ हजार ५०३ जना महिला रहेका छन् ।

नेपालको कुल एचआईभी संक्रमितमध्ये ४० प्रतिशत अर्थात १४ हजार ५ सय ४४ जना मात्र एचआईभी संक्रमितहरु उपचार गरिरहेका छन् २०२० सम्ममा सबैलाई उपचारको पहुँचमा पुर्याउने राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समुहमा सुईद्धारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिँगी तथा तेस्रोलिंगी, खुला सीमाना, वैदेशिक रोजगारी र कैदीहरु रहेका छन् ।

नेपालमा खुला सिमाना, सुईद्धारा लागुपदार्थ प्रयोग, असुरक्षित यौनसम्र्पकबाट यो रोग सर्ने हुनाले जनचेतनामुलक कार्यक्रमहरु देशैभर गरिरहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा.विकास लामिछानेले बताए ।

उनले भने “यस रोगको उपचारका लागि देशका ७७ वटै जिल्लामा निशुल्क औषधी वितरण गरिरहेको छ । ग्रामीण क्षेत्रमा उपचारका लागि यातायात खर्चसमेत दिने गरेको छ ।”

सरकारले हरेक वर्ष एचआईभी संक्रमितको लागि औषधी उपचारका लागि करिब ५० करोड खर्च गर्ने गरेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका पुर्वनिर्देशक तरुण पौडेलले बताए ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका फोकल पर्सन बीरबहादुर रावलले नेपालका बयस्क उमेर (१५ – ४९ बर्ष ) जनसंख्यामा एचआईभीको व्याप्तता दर ०.१७ प्रतिशत रहेको बताए । नेपालमा करिव ७० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्र्पकको माध्ययमबाट सरेको पाइएको छ । दुर्गमका रहेका संक्रमितहरुले एआरभी समेत पाउन सकेका छैनन् । नेपालमा सन २०३० को तुलनामा सन् २०१६ सम्ममा नेपालमा ५७ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ६८ प्रतिशतले बच्चाहरुमा हुने नयाँ संक्रमणमा कमी आएको छ । यसैगरी एड्सको कारणले मृत्यु हुने संख्या ३० प्रतिशतले घटेको छ ।

त्यसैगरी डब्लुएचओका अनुसार विश्वभर ३ करोड ६७ लाख एचआईभी संक्रमण भएको अनुमान छ । विश्वमा करिव ११ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ४७ प्रतिशत बच्चामा हुने संक्रमण पनि कम भएको छ ।

नेपालले सन् २०३० सम्ममा एचआईभी एड्सको महामारी अन्त्य गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?