के हो एमआरआई ? थाहा पाउनको लागि पढ्नुहोस्

सन् १८९५ को नोभेम्बर ८ मा रोन्टजेनले एक्सरेको आविष्कार गरेपछि रेडियो इमेजिङको प्रादुर्भाव भयो । यो चिकित्सा क्षेत्रको कान्छो विधा भए तापनि यसको अत्यन्त गतिमा विकास हुँदै गएको छ । रेडियोलोजिकल इमेजिङजस्तो डायग्नोस्टिक फिल्डको विकास सँगसँगै विश्वमा चिकित्सा विज्ञानको विकास भएको छ । रेडियोलोजी अर्थात् एक्सरेलगायत प्रविधिले चिकित्सा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । रेडियोलोजी र मेडिकल इमेजिङ अहिले उपचार पद्धतिको अभिन्न अंग रहिआएका छन् । यस रेडियोलोजी विधामा सन् १९६० को दशकमा अल्ट्रासाउन्ड प्रविधि थपियो ।

सन् १९७० को दशकमा सिटी स्क्यान प्रविधिको विकास भयो । यो प्रविधिले शरीरका अंगहरुको भित्री बनावट, रोग लागेका अंगहरु, ट्युमर तथा क्यान्सरजस्ता रोगहरु पत्ता लगाउन मद्धत गर्छ । विश्वमा सुरु भएको १८ वर्षपछि नेपालीले पनि सिटी स्क्यान सुविधा पाए । अग्रणी सरकारी अस्पताल वीरले सन् १९८८ (विसं २०४४) मा यो सुविधा सुरु गरेको थियो । यसको प्रयोगले रेडियोलोजी विधामा नेपालले एक फड्को मारेको थियो । रेडियोलोजी तथा इमेजिङ प्रविधिमा सन् १९८० देखि एक नयाँ डायग्नोस्टिक विधिको सुरुवात भयो । जसलाई म्याग्नेटिक रिजोनेन्स इमेजिङ अर्थात् एमआरआई नामले चिनिन्छ । यो प्रविधिले शक्तिशाली चुम्बकको प्रयोगद्वारा शरीरका अंगहरुको सूक्ष्म तथा विस्तृत अध्ययन गर्न सम्भव गराएको छ । यसमा चुम्बकीय क्षेत्रमा राखिएको मानव शरीरमा रेडियो तरंग प्रसारण गरेर शरीरका अंगहरु तथा शारीरिक प्रक्रियाको अध्ययन गरिन्छ । यसको अत्यन्त महत्वपूर्ण विशेषता भनेको यसमा एक्स रे, सिटी स्क्यानमा जस्तो विकिरणको प्रयोग हुँदैन । त्यसैले संसारमै यसको प्रयोग बढिरहेको छ ।

नेपालमा पनि सन् १९९० मा यो सेवाको सुरुवात भयो । वीरेन्द्र सैनिक अस्पतालले यो सेवारम्भ गरेको थियो । एमआरआईको शक्ति टेस्लामा मापन गरिन्छ । टेस्ला भनेको एमआरआईमा प्रयोग हुने चुम्बकको शक्ति हो । चुम्बकको शक्तिजति धेरै भयो, त्यति नै शरीरका अंगहरुको स्पष्ट तस्बिर प्राप्त गर्न सकिन्छ र रोग पहिचान गर्न सहज हुन्छ । त्यस्तै बढी चुम्बकीय शक्तिको एमआरआईमा जाँच गर्न कम समय लाग्छ र कतिपय परीक्षण बढी शक्तिका एमआरआईमा मात्र सम्भव हुन्छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्