टोकियो । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले जापानी राष्ट्रिय झण्डाको अपमान वा अनादर गर्ने कार्यलाई गैरकानुनी ठहर्याउने एक प्रस्तावित विधेयकलाई स्वीकृति दिएको छ ।
पार्टीले आगामी जुलाईको मध्यसम्म चल्ने संसद (डाइट) अधिवेशनबाट यसलाई पारित गराउने लक्ष्य राखेको छ ।
सांसदहरूद्वारा तयार पारिएको यो विधेयक प्रधानमन्त्री सानाए ताकाइचीको प्रमुख विधायिका प्राथमिकताहरू मध्ये एक हो । यद्यपि, विपक्षी केही दलहरुले यसको आलोचना गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको उल्लंघन हुन सक्ने टिप्पणी गरेका छन् ।
एलडीपीका कार्यवाहक कार्यकारी महासचिव कोइची हागिउदाले भने, ‘अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण ध्यानमा राख्दै, अपमान गर्ने उद्देश्यले हाम्रो देशको प्रतीक राष्ट्रिय झण्डालाई क्षति पुर्याउने कार्यहरूलाई दण्डित गर्नु राज्यको जिम्मेवारी हो ।’
उनले विधेयक पारित गर्न पार्टीले विपक्षी दलहरूसँग पनि सहयोग माग्ने बताए ।
प्रस्तावित विधेयकलाई एलडीपीको नीति अनुसन्धान परिषद् बोर्ड र त्यसपछि यसको जनरल काउन्सिलले अनुमोदन गरेसँगै पार्टीभित्रको छलफल टुङ्गिएको छ ।
सत्तारूढ गठबन्धनको सानो साझेदार दल ‘जापान इनोभेसन पार्टी’ सँगको परामर्शपछि यसलाई संसदमा पेस गरिने अपेक्षा गरिएको छ । यो नीति गत वर्ष अक्टोबरमा भएको उनीहरूको गठबन्धन सम्झौतामा समावेश गरिएको थियो । जसले ताकाइचीलाई सत्तामा आउन मद्दत पुर्याएको थियो ।
प्रस्तावित विधेयकमा भनिएको छ, ‘जसले सार्वजनिक रूपमा जापानी झण्डालाई यसरी क्षति पुर्याउँछ, हटाउँछ वा अपवित्र गर्छ, जसले अरूमा असजिलो वा घृणाको कडा भावना पैदा गर्छ, त्यस्ता व्यक्तिलाई दुई वर्ष वा सोभन्दा कम कैद वा २ लाख येनसम्म जरिवाना हुन सक्नेछ ।
यो सजाय झण्डाको अपमान गरेको भिडियो अनलाइनमा लाइभस्ट्रिम (प्रत्यक्ष प्रसारण) गर्ने वा पोस्ट गर्ने व्यक्तिहरूमा पनि लागू हुनेछ ।
यो सजाय अन्य देशका झण्डाहरूको अपमानलाई गैरकानुनी ठहर्याउने फौजदारी संहिताको विद्यमान प्रावधानहरूसँग मेल खान्छ ।
विपक्षी खेमाका कतिपयले भने यो प्रस्तावित कानूनको कुनै स्पष्ट औचित्य नभएको तर्क गरेका छन् । सेन्ट्रिस्ट रिफर्म एलायन्सका महासचिव ताकेशी शिनाले पत्रकारहरूसँग कुरा गर्दै यसको आपराधिक सजायले ‘मानव अधिकारलाई गम्भीर रूपमा संकुचित गर्ने’ र यसलाई निवारकको रूपमा प्रयोग गर्नुको ‘कुनै स्पष्ट कारण नरहेको’ बताए ।
अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी चिन्ताहरूलाई हटाउने प्रयास स्वरूप, सजाय योग्य झण्डा अपमानका केही अपवादहरू पनि तोकिएका छन् । जसमा जापानको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई समर्थन गर्न झण्डामा लेख्ने कार्य र लाइभ–एक्शन चलचित्रमा विनाशका दृश्यहरू चित्रण गर्ने स्क्रिनिङहरू समावेश छन् ।
एनिमे, मङ्गा र भिडियो गेमहरूजस्ता काल्पनिक कथाहरूका साथै जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) द्वारा उत्पादित सामग्रीहरूलाई पनि यसबाट बाहिर राखिएको छ ।
पार्टीको अघिल्लो छलफलमा बालबालिकाहरूका लागि रेस्टुरेन्टको खानामा सामान्यतया समावेश गरिने साना जापानी झण्डाहरू यसबाट प्रभावित नहुने कुरामा पनि सहमति भएको थियो ।


