मुख्य समाचार

राजनीतिक संगठनको पद सात दिन भित्र त्याग्न एनआरएनएको निर्देशन

प्रमाणसहित सचिवालयमा जानकारी बुझाउन आग्रह, अटेर गरे छानबिन तथा कारबाही प्रक्रिया अघि बढाइने


काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरूलाई राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा धारण गरेको पदाधिकारी वा कार्यकारी सदस्यको पद सात दिनभित्र त्याग्न निर्देशन दिएको छ।

महासचिव डा. चिरञ्जीवी खड्काद्वारा जारी आन्तरिक परिपत्रमा त्यस्तो जिम्मेवारीमा रहेका व्यक्तिले परिपत्र प्राप्त भएको मितिले सात दिनभित्र पद वा सदस्यता त्याग गरी आधिकारिक प्रमाणसहित संघको सचिवालयमा लिखित जानकारी बुझाउनु पर्ने उल्लेख छ।

परिपत्रअनुसार संघका केही पदाधिकारी तथा सदस्यहरू राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा निर्वाचित, मनोनीत वा चयन भएको सम्बन्धमा विभिन्न उजुरी तथा गुनासा प्राप्त भएका छन्। सोही विषयमा गत अक्टोबर ४-५ मा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औँ बैठकमा छलफल भएको थियो।

बैठकले संघको गैरराजनीतिक पहिचान, संस्थागत स्वायत्तता तथा विधानमा निहित मूलभूत मान्यताको संरक्षण र परिपालना सुनिश्चित गर्ने निर्णय गरेको परिपत्रमा जनाइएको छ। उक्त निर्णय कार्यान्वयनका लागि परिषद्को २०२५-२०२७ कार्यकालका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई परिपत्र जारी गरिएको हो।

संघले कुनै पनि पदाधिकारी वा सदस्यलाई राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यको पद धारण नगर्नसमेत आग्रह गरेको छ।

तोकिएको अवधिभित्र पद वा सदस्यता त्याग गरेको प्रमाणसहित जानकारी प्राप्त नभएमा वा उजुरीको छानबिनबाट विधानविपरीत कार्य भएको देखिएमा संघको विधान तथा प्रचलित कानूनबमोजिम आवश्यक छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइने परिपत्रमा उल्लेख छ।

महासचिव खड्काले परिपत्र व्यक्तिगत आग्रह नभई परिषद्को निर्णय कार्यान्वयन र संघको गैरराजनीतिक चरित्र संरक्षणका लागि जारी गरिएको औपचारिक संस्थागत निर्देशन भएको स्पष्ट पारेका छन्।

संघको विधान, २००३ को सन् २०२६ को संशोधनसहितको प्रस्तावनाले संघलाई गैरराजनीतिक संस्थाका रूपमा स्थापित गरेको उल्लेख गर्दै परिपत्रमा संस्थागत विश्वसनीयता, एकता र स्वतन्त्र अस्तित्व कायम राख्न सबैको सहयोग अपेक्षा गरिएको छ। परिपत्र तत्काल लागू हुने जनाइएको छ।

सेयर गर्नुहोस्