
काठमाण्डौ । सूचनाको हकबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघले राष्ट्रिय सूचना आयोगको सहकार्यमा ‘मिडियामा सूचनाको हकको प्रयोगः अभ्यास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले सूचनाको हक ऐनले मात्र सुनिश्चित नहुने भन्दै सही सूचना सही समयमा पाउनु नै यसको सार रहेको बताउनुभयो। उहाँले सूचनाको दुरुपयोग नगरी जिम्मेवार प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यले पछिल्लो समय गलत उद्देश्यका लागि सूचनाको हक प्रयोग हुने क्रम बढेको बताउनुभयो। सूचनाको हक लुकाइएका सूचना सार्वजनिक गर्नका लागि भएको भन्दै आयोगले जनताको मौलिक हक कार्यान्वयनका लागि काम गरिरहेको उहाँको भनाइ थियो।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सूचनाको हक प्रयोग गर्नेमा पत्रकारहरू अग्रपंक्तिमा रहेको उल्लेख गर्दै यसको दुरुपयोग नहुने गरी प्रयोग गर्नुपर्ने बताउनुभयो। मिथ्या र अपूर्ण सूचना निरुत्साहित गर्दै तथ्यपरक सूचना प्रवाहमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले माग गरिएको प्रयोजनअनुसार नै सूचना प्रयोग हुनुपर्ने स्पष्ट पार्नुभयो। उहाँले पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम तथा पत्रकारलाई कानुनअनुसार कारबाही हुने जनाउँदै नैतिक पत्रकारितामा जोड दिनुभयो।
महासंघका पूर्वसभापति तारानाथ दाहालले सूचनाको हकको प्रभावकारी कार्यान्वयनले सुशासनको अवस्था उजागर हुने बताउनुभयो। सूचनाको हकको प्रयोगले सञ्चारमाध्यमलाई अझ विश्वसनीय बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।

पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले कार्यालयहरूमा सूचना अधिकारीको व्यवस्था भए पनि कतिपय अवस्थामा सूचना पाउन कठिन हुने समस्या रहेको बताउनुभयो। सूचनाको हक जनताको अधिकारका लागि प्रयोग हुनुपर्ने उहाँले बताउनुभयो।
पूर्वअध्यक्ष विपुल पोख्रेलले सूचनाको हकसम्बन्धी ऐन आएको १८ वर्ष बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन हुन नसकेकोप्रति ध्यानाकर्षण गराउनुभयो। सूचनाको हक राज्य र जनताबीच विश्वास कायम गर्ने माध्यम भएको उहाँको भनाइ थियो।
कार्यक्रममा सूचनाको हक कार्यान्वयनको अवस्थाबारे पत्रकार तथा अभियन्ताबीच समूहगत छलफल गरिएको थियो। छलफलको सहजीकरण महासचिव रामप्रसाद दाहालले गर्नुभएको थियो।
मिडियामा सूचनाको हकको प्रयोग र अभ्यासबारे पत्रकार तथा शिक्षक एकराज पाठकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य, विभिन्न निकायका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण महासंघका सचिव बैकुण्ठ राज पराजुलीले गर्नुभएको थियो।







