
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका चार जना मन्त्रीले शपथग्रहण गरेका छन् ।
राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।
यस्तै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि, पत्रकार जगदीश खरेलले सञ्चार तथा सूचना र विज्ञ मदन परियारले कृषिमन्त्रीका रुपमा शपथ ग्रहण गरेका हुन् ।
यसअघि स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव डा.संगीता मिश्रालाई स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरिएको भए पनि अन्तिम समयमा उनको नाम काटिएको थियो ।
गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले दोस्रोपटक मन्त्रिपरिषद विस्तार गरेकी हुन् । योसँगै मन्त्रिपरिषद ८ सदस्यीय बनेको छ ।
शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थ अधिकारीहरु सहभागी भएका थिए ।







