काठमाडौं । भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका अतिक्रमित नेपाली भूमि फिर्ताको सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्ति विवादित बनेको छ ।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै भारतले मात्र नभई आफूले प्रधानमन्त्री भएपछि नेपालले पनि भारतीय भूमि मिचेको आफूले थाहा पाएको बताएपछि चौतर्फी विरोध भइरहेको छ ।
कुनै देशको प्रधानमन्त्रीले कूटनीतिक मञ्चमा समेत राख्न नहुने कुरा संसदको रोस्ट्रमबाट बोलेको भन्दै विपक्षी दलहरु विरोधमा उत्रिएका छन् भने नागरिक स्तरबाट समेत प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना भएको छ ।
सीमाविदहरुले नेपाल र भारतबीच कतिपय स्थानमा क्रस होल्डिङको समस्या भए पनि नेपालले कतै पनि भारतको भूमि नमिचेको बताएका छन् ।
प्रधानमन्त्रीले आइतबार दिएको यही अभिव्यक्तिका कारण सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध बन्यो ।
प्रतिनिधिसभा बैठकमा विपक्षी दलले प्रधानमन्त्रीले सदनमै उपस्थित भएर माफी नमागेसम्म बैठक चल्न नदिने अडान राखेपछि संसदको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
विपक्षी दलको विरोधपछि सभामुख डीपी अर्यालले मंगलबार दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् । सोमबारको दोस्रो बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे पनि विपक्षी दलले प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान कायम राखेका छन् ।
विपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुख अर्यालले कार्यसूचीमा भएका कार्यक्रम हटाएर मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।


