काठमाडौं। जापानको सहयोगमा निर्माण भएको बिपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि बर्खेखोलासम्मको सडकखण्ड पुनःनिर्माणको काम सुरु भएको छ ।
नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा सो सडकखण्डमा पर्ने ३.२ किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
१२ असोज, २०८१ मा गएको भीषण बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीमा पर्ने करिब ३० किलोमिटर सडकखण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्नेछ ।
पिप्ले–बर्खेखोला सडकखण्डको जापानस्थित सिमिजु कर्पाेरेसनले निर्माणको जिम्मा लिएको हो ।
जापानले दुई अर्ब ८० करोड येन अनुदान दिनेगरी २०८२ कात्तिक १३ गते द्विपक्षीय सम्झौता भएको थियो । यसअघि जाइका टोलीले पूर्वतयारीस्वरुप क्याम्प बनाउने, अस्थायी बाटो बनाउनेलगायत काम गरेको छ । योसमेत गरी हाल बिपी राजमार्गको क्षतिग्रस्त सडक चार खण्डमा निर्माणाधीन अवस्थामा रहेको हो ।
यसअघि हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडकखण्डमा कुल २५ प्रतिशत काम भएको छ ।
क्षति पुर्याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको छ ।
यस्तै डालाबेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको छ । गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ ।
यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाइ कालोपत्र गरी कामलाई तीव्रता दिइएको बताइएको छ ।
अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो ।
डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाखमा निर्माण गर्नेगरी ठेक्का दिइएको छ ।
यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११.०८ किमी सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई १ अर्ब ३३ करोड ५३ लाख, नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किमी सडक पुनर्निर्माणका लागि ६१ करोडमा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।
क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले ८ अर्ब ५० करोड स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई ७ अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई एक अर्बको स्रोत सहमति दिइएको हो ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो । २०७२ असार १८ गते औपचारिक रुपमा सडक निर्माण सम्पन्न गरी जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।


