काठमाडाैं। जापानले करिब डेढवर्षअघि आएको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको ३०.५ किलोमिटर सडकमध्ये ३.२ किमि सडकखण्डको पुनर्निर्माण आजबाट सुरु गर्दैछ ।
राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खेखोला खण्डको पुनर्निर्माण सुरु गर्न लागेको हो । करिब १२ असोज २०८१ मा आएको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गको काभ्रे र सिन्धुलीमा पर्ने ३०.५ किलोमिटर सडकखण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्नेछ ।
जसमध्ये जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा पिप्लेदेखि बर्खेखोलासम्मको ३.२ किमि सडकखण्डको पुनर्निर्माण कार्य सुरु हुन लागेको सडक विभागले जनाएको छ ।
सोमबार जापानका लागि नेपाली राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा परियोजना पुनर्निर्माणको शिलान्यास गर्ने तयारी छ । जापानको सिमिजु कर्पाेरेसनले उक्त खण्डको निर्माण ठेक्का पाएको छ ।
१३ कात्तिकमा जापानले दुई अर्ब ८० करोड येन अनुदान दिने गरी द्विपक्षीय सम्झौता भएको थियो । जापानले यसअघिदेखि नै पूर्वतयारी अनुरुप क्याम्प बनाउने, अस्थायी बाटो बनाउनेलगायतका काम गरिरहेको थियो ।
एक सय ५९ किलोमिटर बीपी राजमार्ग जापानको २६ अर्ब येन आर्थिक र प्राविधिक सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु भएर २०७२ सालमा सम्पन्न भएको थियो ।


