विश्व प्रेस स्वतन्त्रता दिवसमा महासंघको चिन्ता : प्रेस स्वतन्त्रता हननका घटना बढ्दो

|

काठमाडौं । नेपाल पत्रकार महासंघले पछिल्लो एक वर्षमा मुलुकमा प्रेस स्वतन्त्रता हननका घटना उल्लेख्य रूपमा बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३, २०२६) को अवसरमा महासंघ अध्यक्ष निर्मला शर्माले जारी गरेको शुभकामना सन्देशमा लोकतान्त्रिक संविधान लागू भएको एक दशक बितिसक्दा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब बढ्दै गएको उल्लेख गरिएको छ ।

महासंघका अनुसार मे ४, २०२५ देखि अप्रिल ३०, २०२६ सम्म देशभर १ सय ३१ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएका छन् । अघिल्लो वर्ष यस्तो संख्या ७३ रहेको थियो भने त्यसअघिको वर्ष ६२ थियो । महासंघले तुलनात्मक रूपमा प्रेस स्वतन्त्रता हननका घटना निरन्तर बढिरहेको निष्कर्ष निकालेको छ ।

महासंघ सञ्चार अनुगमन इकाईको विवरणअनुसार पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका ५१, पत्रकार र सञ्चार सामग्रीमाथि आक्रमणका ३०, पेशागत असुरक्षाका १८ तथा कब्जा र अवरोधका २६ घटना भएका छन् । यस्तै नीतिगत बन्देजका ३ घटना, २ पत्रकार पक्राउ तथा १ पत्रकारको शंकास्पद मृत्यु भएको उल्लेख छ ।

महासंघले २०८२ भदौ २३ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा मात्रै २६ वटा प्रेस स्वतन्त्रता हननका घटना भएको जनाएको छ । आन्दोलनका क्रममा एक सयभन्दा बढी पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भएको महासंघको भनाइ छ । उक्त घटनामा सञ्चारगृहमा आगजनी, लुटपाट तथा तोडफोड हुँदा संस्थागततर्फ करिब ६० करोड रुपैयाँ र निजी सम्पत्तितर्फ करिब १८ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ । पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए ।

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण पोस्ट, थाहा खबरलगायत विभिन्न सञ्चार संस्थामा आगजनी तथा तोडफोड भएको महासंघले जनाएको छ ।

महासंघले पछिल्लो समय सरकारी विज्ञापन वितरणमा विभेदपूर्ण व्यवहार, लोककल्याणकारी विज्ञापन संकुचन तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भइरहेको आरोप समेत लगाएको छ । महासंघका अनुसार मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक तथा सूचना प्रविधिसम्बन्धी विधेयकहरू पनि प्रेस स्वतन्त्रतामाथि असर पार्ने गरी अघि बढाइएको थियो ।

शुभकामना सन्देशमा अध्यक्ष शर्माले पत्रकारविरुद्धका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक संकट, पत्रकार पलायन तथा पेशागत असुरक्षा जस्ता कारणले प्रेस स्वतन्त्रता थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेकी छन् ।

महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सबै पेशागत संगठन, सञ्चारकर्मी तथा नागरिक समाजसँग ऐक्यबद्धताको अपिल समेत गरेको छ ।