टोकियो – नेपाल पत्रकार महासंघ, जापान शाखाले जापानमा कार्यरत नेपाली पत्रकारहरूको सहभागितामा टोकियोमा महासंघको ७१औँ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ।
कार्यक्रममा जापान शाखाका संस्थापक अध्यक्ष तथा सल्लाहकार तिलक मल्ल, निवर्तमान अध्यक्ष तथा सल्लाहकार शान्त पहारी, अध्यक्ष रविन्द्र श्रेष्ठ, कार्यसमिति पदाधिकारी तथा सदस्यहरूका साथै जापानमा सक्रिय पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त अवसरमा पत्रकारिताको वर्तमान अवस्था, प्रवासी नेपाली मिडियाको भूमिका तथा यस क्षेत्रका चुनौतीहरूबारे छलफल गरिएको थियो। सहभागीहरूले पत्रकारिताको मूल्यमान्यता कायम राख्दै पेशागत एकता सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सो अवसरमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा महासंघले निरन्तर आवाज उठाउँदै आएको बताइन्। उनले नयाँ सरकारले पनि कुनै पूर्वाग्रह विना स्वतन्त्र प्रेसको सम्मान गर्नुपर्नेमा जोड दिँदै महासंघ श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणमा सधैं सक्रिय रहेको दाबी गरिन्।

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष तिलक मल्लले बदलिँदो समय सन्दर्भमा प्रवासमा रहेका पत्रकारहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको उल्लेख गरे। उनले जापानमा रहेका नेपालीहरूको अवस्था, भिसा प्रणाली तथा जापान सरकारका बदलिँदा नियमहरूबारे पत्रकारहरूले गहिरो अध्ययन गरी सही सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए।

त्यसैगरी, जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले जापानमा रहेका पत्रकारहरूको हकहितका लागि महासंघले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पत्रकारहरूबीच आपसी सहयोग र सहकार्य अपरिहार्य रहेको बताए।
निवर्तमान अध्यक्ष शान्त पहारीले जापानमा रहेका पत्रकारहरूले सदैव नेपाली समुदायका दुःख पीडामा साथ दिनुपर्ने आवश्यकता औँल्याए।
महासंघका सचिव अर्जुन लामिछानेद्वारा सञ्चालन गरिएको कार्यक्रमको अध्यक्षता शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले गरेका थिए।




