
सिओल । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको२०औँ वर्ष प्रवेश तथा महासंघको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित डायस्पोरा मिडिया समिट-२०२६ अन्तर्गत पत्रकारिता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सिओलमा भव्य रूपमा सम्पन्न भएको छ।
मार्च २९ तारिख आइतबार सम्पन्न कार्यक्रममा प्रवासमा नेपाली पत्रकारिताको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे गहिरो बहस भएको थियो ।
कार्यक्रमको पहिलो चरणमा एक सय जना भन्दा बढी सहभागीहरूको उत्साहजनक उपस्थितिमा पत्रकारिता प्रशिक्षण सञ्चालन गरिएको थियो।
कोरियामा क्रियाशील नेपाली पत्रकार तथा पत्रकारितामा प्रवेश गर्न इच्छुक सहभागीहरूलाई लक्षित गर्दै विभिन्न समसामयिक विषयमा व्यवहारिक र सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो।
विशेष प्रशिक्षक तथा सिओल राष्ट्रिय विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता प्रकाश धमलाले डिजिटल पत्रकारिताको बदलिँदो स्वरूप, अवसर र चुनौती, ‘प्रोसुमर’ संस्कृतिको उदय, मोबाइल पत्रकारिताको विस्तार तथा पोस्ट-ट्रुथ युगमा सूचना विश्वसनीयताको संकटबारे गहन विश्लेषण प्रस्तुत गरे ।
उनले तथ्यमा आधारित, जिम्मेवार र नैतिक पत्रकारितामा जोड दिँदै डिजिटल युगमा कानुनी सचेतनाको आवश्यकता औंल्याए ।

यसै सत्रमा कार्यक्रमका प्रमुख प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले डा. धमलाको प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गर्दै उक्त सामग्रीले सहभागीहरूलाई दीर्घकालीन रूपमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।
साथै उनले प्रशिक्षार्थीहरूलाई पत्रकारितामा विश्वसनीयता, उत्तरदायित्व र तथ्यपरक अभ्यासलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।
प्रवासमा रहेर पनि मातृभूमिसँग जोडिने सेतुका रूपमा पत्रकारितालाई विकास गर्नुपर्ने र समुदायका आवाजलाई सशक्त रूपमा उठाउनुपर्नेमा उनले विशेष जोड दिए ।
अन्य प्रशिक्षकहरू बलराम पुडासैनी, कोकिल पौडेल, रमेश शिवाकोटी र उत्तम खाजुमले युट्युब कन्टेन्ट निर्माण, प्रस्तोता कला, समाचार लेखन तथा सम्पादन, रिपोर्टिङ, अन्तर्वार्ता, अनुसन्धानमूलक पत्रकारिता, फोटो/भिडियो पत्रकारिता तथा तथ्य जाँचका विषयमा व्यवहारिक प्रशिक्षण दिए ।
प्रशिक्षणले सहभागीहरूलाई व्यावसायिक दक्षता अभिवृद्धि गर्न उल्लेखनीय प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ।
उक्त पहिलो सेसनको सहजीकरण नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष सन्तोष खड्काले गरेका थिए।
दोस्रो चरणको औपचारिक कार्यक्रम महासंघका अध्यक्ष सन्तोष खड्काको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको उपस्थिति रहेको थियो।
विशिष्ट अतिथिहरूमा नेपाली राजदूतावास दक्षिण कोरियाका उपप्रमुख निर्मल भट्टराई, एनआरएनए दक्षिण कोरियाका संरक्षक प्रकाश धमला, केन्द्रीय उपाध्यक्ष जुनु गुरुङ, संस्थापक अध्यक्ष केपी सिटौला, वर्तमान अध्यक्ष विपिन कुमार गुरुङ तथा वरिष्ठ उपाध्यक्ष तारा पुन लगायतको उपस्थिति रहेको थियो।
औपचारिक सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले दक्षिण कोरिया शाखाले प्रवासमा पत्रकारिताको विकास, समुदायको आवाज अभिव्यक्ति र सचेतना विस्तारमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
उनले प्रवासी नेपाली समुदायले भोगिरहेका श्रम, सामाजिक, कानुनी तथा मानवीय मुद्दाहरूलाई उजागर गर्न पत्रकारहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गरे ।
उनले नेपाली पत्रकारिताले सूचना प्रवाहमा मात्र सीमित नरही नीति निर्माण तहसम्म प्रवासीको आवाज पुर्याउने, भाषा-संस्कृति संरक्षण गर्ने र सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउने कार्यमा अग्रसर रहनुपर्ने धारणा व्यक्त गरे ।
साथै यस्ता कार्यक्रमहरूले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै पेशालाई अझ जिम्मेवार, विश्वसनीय र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
सम्मान, प्रमाणपत्र र प्रेरणादायी समापन
कार्यक्रमको समापन सत्रमा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षकहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो।
सरोकारवाला तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले प्रवासमा नेपाली पत्रकारहरूको भूमिका पेशागत सीमाभन्दा माथि उठेर सामाजिक उत्तरदायित्वको उदाहरण बनेको उल्लेख गर्दै यस्ता कार्यक्रमले पत्रकारितालाई थप सशक्त र उत्तरदायी बनाउने विश्वास व्यक्त गरे।
डायस्पोरा मिडिया समिट-२०२६ अन्तर्गत सम्पन्न यस प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमले प्रवासमा नेपाली पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्दै जिम्मेवार, तथ्यपरक र व्यावसायिक अभ्यासलाई अझ मजबुत बनाउने स्पष्ट संकेत दिएको छ।
डिजिटल युगमा सत्य, नैतिकता र उत्तरदायित्वलाई केन्द्रमा राख्दै अघि बढ्नुपर्ने सन्देशसहित कार्यक्रमले सहभागीहरूमा नयाँ ऊर्जा र दृष्टिकोण प्रदान गरेको आयोजकले जनाएको छ।


