
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट दुई तिहाई नजिकको बहुमतको सरकार बनेकाले अस्थिरता अन्त्य हुने आशा पलाएको उल्लेख गरेकी छन् ।
नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र जिम्मेवार पत्रकारितामा अझ दृढ हुन आग्रह समेत गरेकी छन् ।
उनले महासंघ सँग छलफल गरेर लामो समयदेखि रोकिएका सञ्चारसम्बन्धी कानुन र आवश्यक कानुन ल्याउने विश्वास समेत व्यक्त गरेकी छन् ।
अध्यक्ष शर्माले महासंघले सात दशकभन्दा लामो इतिहासमा प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि निरन्तर काम गर्दै आएको उल्लेख गर्दै व्यावसायिक र जवाफदेही पत्रकारितामार्फत सुदृढ लोकतन्त्र र विधिको शासन स्थापना गर्नु प्रमुख प्राथमिकता भएको बताएकी छन् ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मिथ्या सूचनाको चुनौती बढेको उल्लेख गर्दै उनले जिम्मेवार पत्रकारिता आवश्यक रहेको दोहोर्याएकी छन् ।
उनले भनेकी छन्, ‘सूचना प्रविधिको विकाससँगै बढिरहेको सामाजिक सञ्जालको प्रयोगले मिथ्या सूचनाको प्रवाह पनि बढ्दो छ । जसका कारण पाठकमा सञ्चारमाध्यमका सामग्री र सामाजिक सञ्जालमार्फत व्यक्तिले व्यक्त गरेका विचारहरू छुट्याउन समस्या परिरहेको अवस्था छ ।
यस्तो चुनौतीका बीच जिम्मेवार पत्रकारिता गर्दै महासंघको मर्यादा उँचो बनाउने र इतिहासको गौरवलाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी हाम्रा सामु छ ।’
प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेपको प्रतिवाद गर्ने बताउँदै उनले संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको नियन्त्रण स्वीकार्य नहुने स्पष्ट पारेकी छन् ।
उनले जारी गरेका शुभकामना सन्देशमा भनिएको छ, ‘भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि करिब दुई तिहाइको सरकार बनेको छ । यसले लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य हुने विश्वास महासंघले लिएको छ । साथै, त्यस्तै जेन्जी आन्दोलनको बेला मारमा परेका सञ्चारगृह र दुर्घटनामा परेका पत्रकारहरूको महासंघले संकलन गरेको विवरणअनुसार क्षतिपूर्ति दिलाइ मनोबल बढाउन जरुरी छ ।’
उनले पत्रकारको भौतिक तथा पेशागत सुरक्षाका लागि आमसञ्चार क्षेत्रमा कार्यरत राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायसँगको सम्बन्ध थप बलियो बनाउन हामी लागी परेको समेत उल्लेख गरेकी छन् ।

