प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुको शपथ

|

काठमाडौं । गत २१ फागुनमा भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधिसभा सदस्यहरुको आज बिहीबार पद तथा गोपनीयताको शपथ हुँदैछ ।

शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे हुने कार्यक्रम तय गरिएको छ । तर शपथ ग्रहणका लागि निर्वाचित सांसदहरुले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन संघीय संसद् सचिवालयले आग्रह गरेको छ ।

सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने शपथको सबै तयारी पूरा भइसकेको संघीय संसद् सचिवालयले जनाएको छ ।

नवनिर्वाचित सांसदहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई बुधबार शीतल निवासमा शपथ गराएका थिए ।

सचिवालयले औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थित हुन सांसदहरुलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा (एमाले) का २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीेका सात, राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच जना र एक स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।