पश्चिम नेपालको जाजरकोटमा भूकम्प, गाउँपालिका उपाध्यक्ष सहित अहिलेसम्म ३६ जनाको ज्यान गयो

जाजर犀利士 कोट । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् ।

उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।

भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए ।

रातिको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए । उनका अनुसार, हालसम्मको सूचनामा जाजरकोट र रुकुममा सबैभन्दा धेरै क्षति भएको छ ।

शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।

सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो।

उपमेयर सिंहका काका जय सिंहले पनि भुइँचालोमा परेर उनको मृत्यु भएको पुष्टि गरे। त्यस्तै, नलगाड नगरपालिकाका सूचना प्रविधि अधिकृत जुना शाहीले पनि उपमेयर सिंहको मृत्यु भएको बताइन्।

नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?