सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा घोषणा हुँदै

सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले समाजवादी मोर्चा घोषणा गर्ने सहमति जुटाएको हो ।

सोमबार दिउँसो तीन बजे राजधानीको राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम रहेको छ ।

समाजवादी मोर्चामा सत्तारुढ दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहने निश्चित भएको छ ।

मोर्चाको प्रतिबद्धता पत्रको मस्यौदामा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने, निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने तथा मोर्चाका सदस्यहरूले साझा नीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्ने उल्लेख छ ।

मोर्चाले आफ्नो साझा नीति तथा कार्यक्रम, आचारसंहिता र आवश्यकताअनुसार कार्यविधिहरू बनाउने र समयसापेक्ष परिमार्जन गर्ने पनि मस्यौदामा उल्लेख छ ।

त्यस्तै मोर्चालाई प्रदेश तथा जिल्ला हुँदै स्थानीय स्तरमै विस्तार गरेर लैजाने प्रस्ताव गरिएको छ ।

घोषणापत्रमा मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूका अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।

मोर्चामा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियानलाई पनि सहभागी गराउन छलफल भइरहेको छ । तर यी दुवै दल सोमबार नै मोर्चामा सहभागी हुने सम्भावना कम देखिएको छ ।

गौतमले आइतबारमात्रै एमाले अध्यक्ष केपी ओलीसँग भेट गरी एमालेमा क्रियाशील हुन चाहेको बताएका थिए । एमाले स्पष्ट रुपमा यो मो日本藤素 र्चाको विपक्षमा देखिएको छ ।

समाजवादी मोर्चामा भट्टराईलाई सहभागी गराउन नेपाल समाजवादी र माओवादी केन्द्र दुबैतर्फका नेताहरू लागेका छन् । यदि मोर्चामा भट्टराईलाई नसमेटिए माओवादीसँग एकता गरेर भए पनि समेटिनुपर्ने माओवादीका केही नेताहरुले दबाब दिएका छन् ।

समाजवादी मोर्चा घोषणा हुन लागेको विषयमा भट्टराईले भने अहिलेसम्म मुख खोलेका छैनन् । भट्टराई नै समाजवादी मोर्चा गठनका सुत्रधारमध्ये एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?