टोपबहादुर रायामाझी, उनका छोरा र रामबहादुर थापाका छोराविरुद्ध पक्राउ पुर्जी जारी

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा एमाले सचिव टोपबहादुर रायामाझी उनका छोरा सन्दीप र पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । सन्दीपले एक करोडको चेक लिएको पाइएको स्रोतको भनाई छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका छन् ।

गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उनी आफैं प्रहरी कार्यालयमा गएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिहरुसँग रकम असुलेको पाइएपछि तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् भने उनका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउन भन्दै गिरोहबाट पटक–पटक गरी ५ करोड रकम लिएको पाइएको प्रहरीको भनाई छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीमाथि छानबिनका क्रममा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ १२ चैतमै पक्राउ परेका थिए ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै रकम असुल्ने कार्यमा बादल र एमाले सचिव रायमाझीसहित उनीहरुसँग निकट सम्बन्ध भएका व्यक्तिहरु संलग्न भएको विषयमा प्रतिनिधिसभाको बैठकमै कुरा उठेको थियो ।

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा बैठकमा कुरा उठाउँदै छानबिनको माग गर्दा एमाले प्रमुख सचेतक पदम गिरीले नियमापत्ति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?