तेस्रो राष्ट्रपति चयनका लागि मतदान, बेलुकासम्म परिणाम आउने

आज नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । संघीय संसदको ल्होत्से भवनमा दुई वटा बुथमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।

संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) तथा प्रदेश सभा सदस्यहरुले निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ ।

मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ । राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिने भएकाले त्यसअघि नै नयाँ राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः उम्मेदवार हुन नपाउने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?