
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको हो ।
सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेकाले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन २७ सांसदको समर्थन चाहिन्छ ।
२७ पुसमा नियुक्त भएका एमालेका मुख्यमन्त्री राजेन्द्र रावलले २६ माघमा विश्वासको मत नपाएपछि उनको सरकार ढलेको थियो ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसारको सरकारले विश्वासको मत नपाएपछि काँग्रेस संसदीय दलका नेता शाह माघ २६ गते नै ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बनेका थिए ।
उनलाई कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा जोशीले विश्वासको मत दिएका हुन् ।