एमाले सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता

नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ ।

सोमबार बसेको एमाले सचिवालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

पार्टीको निर्णयलगत्तै एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् ।

सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

मन्त्रिपरिषदमा एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई थिए ।

यसअघि एमालेले फागुन २५ गतेसम्म सरकारबाट अलग नहुने निर्णय गरेको थियो । तर आइतबार साँझ संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा सहभागी हुन जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्रीले रोकेपछि एमाले आक्रोशित बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?