निर्वाचन आयोगले तोकेको जरिवाना राष्टपतिद्वारा मिनाहा

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवाना राष्ट्रपति विद्यादेवी भण्डारीले मिनाहा गरेकी छन् ।

उनले मन्त्रिपरिषद्को फागुन ४ गतेको बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम सो जरिवानाको रकम माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी राष्ट्रपति भण्डारीबाट मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा २०७९ फागुन ७ गतेदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका तीन सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ ।

राष्ट्रपति भण्डारीबाट फागुन ४ गतेको बैठकको सिफारिसका आधारमा पुष्कर गौतमसमेतका १४ जना व्यक्तिलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?