लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार दिउँसो काठमाडौंको गोङ्गबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर उनले घटनाको छानबिन गर्न र अन्यायमा परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘गोङ्गबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु । राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ । घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस् । लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारबाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस् ।’

छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताएका थिए ।

उनीहरूले घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बीच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको ब्रिफिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?