प्रधानमन्त्रीलाई गृह मन्त्रालयबारे निर्णय गर्न रास्वपाले दियो २ दिनको समय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृह मन्त्रालयबारे निर्णय गर्न दुई दिनको समय दिएको छ ।

रास्वपा सभापति रवि लामिछानेले नागरिकता विवादका कारण पद गुमाएपछि अब फेरि उनलाई सो पदमा तत्कालै नल्याउने सोचमा प्रधानमन्त्री छन् ।

सर्वोच्चले शुक्रबार नागरिकता खारेज गरेका रवि आइतबार अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेसँगै नेपाली नागरिकता पाएका थिए ।

नेपाली नागरिकता लिएलगत्तै उनी फेरि उपप्रधान र गृहमन्त्रीको पदमा फर्किन चाहेका छन् । यद्यपि उनको राहदानीसम्बन्धी विवाद कायमै छ ।

प्रधानमन्त्रीले रविलाई तत्कालै गृहमन्त्री नबनाउने संकेत गरेपछि रास्वपाले सरकार छाड्ने तयारीसहित केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठक बोलाएको थियो ।

बैठकअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेर समय मागेपछि २ दिनको समय दिएको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

बैठकपछि उनले भने, ‘गृह मन्त्रालय हामीले पाएका हौं, यो अडानबाट हामी पछि हट्दैनौं । को पठाउने भन्ने हाम्रो आफ्नो विषय हो ।’ गृह मन्त्रालय कुनै हालतमा नछाड्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?