जहाज दुर्घटना : सेती नदीमा डा.दम्पतीको सामूहिक दाहसंस्कार

पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ ।

दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सीघाटमा आज उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो ।

काठमाडाँैबाट पोखरा जाँदै गरेको जहाज दुर्घटनामा परी पोखरा–४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा.सुशील श्रेष्ठ, उनकी श्रीमती डा.सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो ।

सेती नदीमा आइतबार डा.दम्पतीलाई एउटै चितामा दागबत्ती दिइएको छ भने नाबालक छोराको व्रतबन्ध भइनसकेका कारण सेती नदीको किनारमा गाडिएको छ ।

तीन जनाकै शव क्षतविक्षत अवस्थामा थिए । डा.सुशील दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए । डा.सोना पनि एमडी गर्दै थिइन् ।

डा.सुशीलले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?